‘म स्वस्थ, मेरो नगर स्वस्थ’ अभियान शुरु
कैलाली : टीकापुर नगरपालिकाले ‘म स्वस्थ, मेरो नगर स्वस्थ’ अभियान शुरु गरेको छ। नगरपालिकाले ‘स्थानीय जनताको स्वस्थता, नगर सरकारको प्रतिबद्धता’ भन्ने नाराका साथ नगर स्वस्थ अभियान शुरु गरेको हो।
अभियानअन्तर्गत नगरपालिकाले पहिलो चरणमा जनप्रतिनिधि, कर्मचारी, पत्रकार, शिक्षक, राजनीतिक दलका प्रतिनिधिलाई सामाजिकरूपमा प्रतिबद्ध गराउन थालेको छ।
नगरपालिकाले सार्वजनिक कार्यक्रममा सामूहिक प्रतिबद्धता गर्न लगाएर सामाजिक सञ्जालमा हाल्न थालेको छ। संघ र प्रदेश सरकारले पनि स्वास्थ्यप्रति नागरिकलाई जिम्मेवार बनाउन मेरो वर्ष अभियान शुरु गरेका छन्।
नगरपालिकाले भने केन्द्र कार्यालय र वडा कार्यालयमा जनप्रतिनिधिका फोटोसहितका प्रतिबद्धता टाँसेर अभियान थालेको छ। १० बुँदामा रहेको प्रतिबद्धतामा म स्वस्थ र पोषिलो खाना खान्छु, म रक्सी चुरोट र सुर्तीजन्य पदार्थबाट टाढै रहन्छु, म नियमित स्वास्थ्य जाँच गराउँछु, म नियमित व्यायाम गर्छु, म तनावरहित जीवनशैलीलाई आत्मसात् गर्छु, म प्रदूषण नियन्त्रणमा सजग रहँदै आफ्नो घर र समुदाय सफा राख्छु भन्ने बुँदा उल्लेख छ।
यीलगायत १० बुँदे प्रतिबद्धता कार्यान्वयन गरेमा नगर सुन्दर र नगरवासी स्वस्थ रहन मद्दत पुग्ने नगरप्रमुख तपेन्द्र रावलले जानकारी दिए। स्वास्थ्य उपशाखा संयोजक बलबहादुर रावलले यो अभियान अब विद्यालय तहमा लैजाने बताए।




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य