Health TV Online
Health TV Online
Health TV Online

सिकलसेल एनिमियाको औषधि अभाव

सिकलसेल एनिमियाको औषधि अभाव

दाङ : सिकलसेल एनिमियाको औषधि अभाव भएको छ। पाँच छ महिनादेखि आफूहरूले औषधि नपाएको तुलसीपुरका सिकलसेल एनिमियापीडित जीतबहादुर चौधरीले बताए।

सरकारले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमार्फतसिकलसेल एनिमियाका बिरामीलाई एक लाख रुपैयाँ बराबरको निःशुल्क औषधि दिने भनेको छ। तर बिरामीले लामो समयदेखि औषधि पाउन सकेका छैनन्। दैनिक खानुपर्ने भए पनि एक महिनादेखि औषधि नखाएको पीडित तुलसीपुर–११ मोतीपुर निवासी रुपा चौधरीले बताइन्।

औषधि नखाँदा हातखुट्टाका जोर्नी दुख्ने, शरीर दुख्ने हुँदा कुनै पनि काम गर्न नसकिने उनको भनाइ छ। अहिले दाङ र नेपालगञ्जमा औषधि नपाइने भएपछि भारतको रुपैडिहाबाट औषधि ल्याएर खाने गरेको सिकलसेलपीडित तुलसीपुर–११ निवासी शरद चौधरीले बताए।

दाङमा ‘फोलिकएसिड’ भए पनि ‘हाइड्रिया’ नामक औषधि अभाव रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी चित्रकला अधिकारीले जानकारी दिइन्।

अहिलेसम्म दाङमा १३५ जनाले नियमित औषधि लिइरहेको भए पनि औषधि अभावमा ती बिरामी प्रभावित भएको उनको भनाइ छ । प्रतिष्ठानमा नेपालगञ्जबाट सिकलसेल एनिमियाको औषधि आउने भए पनि पछिल्लो समय औषधि नेपालगञ्जमा नै अभाव भएपछि दाङले पनि अभाव खेप्नुपरेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीका रजिष्ट्रार रामप्रसाद प्याकुरेलले जानकारी दिए।

दाङमा नियमित १३५ ले सिकलसेल एनिमियाको औषधि खाइरहेको भए पनि रोगीको यकिन पहिचान हुन नसकेको थारू स्वास्थ्यकर्मी समाज दाङका अध्यक्ष जीवराज चौधरीले बताए। दाङमा एक लाख ३७ हजार थारू समुदायको जनसङ्ख्या भएको भन्दै यसको १५ प्रतिशतमा सिकलसेल भएको हुनसक्ने यसअघिको अध्ययनले देखाएको थियो।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार