Health TV Online
Health TV Online
Health TV Online

क्यान्सरको उपचार गर्दा १६ प्रतिशत नेपालीको घरखेत सकिन्छ: अध्ययन

क्यान्सरको उपचार गर्दा १६ प्रतिशत नेपालीको घरखेत सकिन्छ: अध्ययन

काठमाडौं : नेपालमा १६ प्रतिशत क्यान्सरका बिरामीको उपचारका क्रममा घरखेत सकिने गरेको तथ्य सार्वजनिक भएको छ।
सूर्तीजन्य पदार्थ विरुद्धको अभियानमा काम गर्दै आएको एक्सन नेपालले नेपाल स्वास्थ्य अनुसन्धान परिषदको समन्वयमा गरेको एक अध्ययनले यस्तो तथ्य उजागर गरेको हो ।

अनुसन्धानमा नेपालमा क्यान्सर रोगको उपचार हुने तीन ठूला अस्पताल वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर, भक्तपुर क्यान्सर अस्पताल र नेपाल क्यान्सर अस्पताल हरिसिद्धमा थर्ड स्टेजको क्यान्सरको उपचार गराईरहेका १०३ जना विरामीलाई सहभागी गराइएको थियो । उनीहरुमध्ये १६ प्रतिशतले खर्चको अभावमा घर जग्गा बेच्न बाध्य भएको बताएका थिए ।

यस्तै अनुसन्धानले मुटु तथा रक्त नलिको उपचारमा एक जना विरामीका लागि औषत ७ लाख ९० हजार ९५५ रुपैयाँ खर्च लाग्ने गरेको तथ्य निकालेको छ । यसको अध्ययन मुटुरोगको धेरै उपचार हुने शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्र र नर्भिक अस्पतालमा गरिएको थियो । अनुसन्धानको नेतृत्व गरेका डा देवीप्रसाद प्रसाईँले कुल लागत खर्चमध्ये ६८ प्रतिशत औषधिमा खर्च हुने गरेको बताए ।

स्वास्थ्य पत्रकार मञ्च, एक्सन नेपाल, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र द यूनियनको सहकार्यमा भएको सूर्तिजन्य पदार्थको सेवनले लाग्ने मुटु तथा क्यान्सर रोग र यसको उपचारमा लाग्ने खर्चबारे गरिएको अनुसन्धान प्रतिवेदन सार्वजनिककरण कार्यक्रममा बोल्दै प्रमुख अनुसन्धानकर्ता प्रसाईले सूर्तिजन्य पदार्थको कारणले मुटु तथा क्यान्सरको उपचार भयावह अवस्था रहेको बताए ।

कार्यक्रममा बोल्दै बरिष्ठ मुटुरोग विशेषज्ञ प्राडा भगवान कोइरालाले सूर्तिजन्य पदार्थको प्रयोगले कसैलाई पनि फाइदा नपुर्याउने भएकाले यसलाई सार्वजनिक रुपमै बहिस्कार गर्नुपर्ने बताए । सूर्तिजन्य पदार्थको प्रयोगलाई नियन्त्रण गर्न करको दर बढाउनपर्नेमा समेत उनले जोड दिए । उनले सरकाले बन्द भएको जनकपुर चुरोट कारखाना कुनै पनि हालतमा खोल्न नहुने समेत जिकीर गरे ।

यस्तै कार्यक्रममा वरिष्ठ छातिरोग विशेषज्ञ डा रमेश चोखानीले सूर्तिजन्य पदार्थको सेवनका कारण दिनप्रतिदिन फोक्सो सम्बन्धी रेनग बढेको भन्दै यसलाई कडाई गर्नुपर्ने बताए ।

कार्यक्रममा द यूनियनका एसिया प्यासेफिक क्षेत्रका उप निर्देशक डा तारासिंह बमले नेपालमा बर्षेनी २५ हजार नेपालीको मृत्युको कारक सूर्तिजन्य पदार्थ भएको भन्दै यसलाई रोक्न सरकारले विशेष पहल गर्नुपर्ने बताए । उनले सरकारी अधिकारीहरुलाई सूर्ति रोज्ने की स्वास्थ्य रोज्ने भन्दै प्रश्न समेत गरेका थिए ।

कार्यक्रममा विशेष अतिथी रहेकी शिक्षा तथा स्वास्थ्य समितिकी सभापति जयपुरी घर्तीले सूर्तिजन्य पदार्थको प्रयोगलाई नियन्त्रण गर्न आफ्नो समितिको तर्फबाट सक्दो पहल गर्ने प्रतिवद्धता ब्यक्त गरिन्। उनले कानून बनाउँदा जनताको स्वास्थ्यलाई ध्यान दिने बताइन्।

उता कानून न्याय तथा मानवअधिकार समितिका सभापति कृष्णभक्त पोखरेलले सूर्तिजन्य पदार्थ नियन्त्रण गर्न कानुनको आवश्यकता रहेको भन्दै त्यसका लागि आफ्नो समितिले पहल गर्ने बताए । उनले यस विषयमा संसद र समितिमा कुरा राख्ने समेत प्रतिबद्धता ब्यक्त गरे ।

यसैगरी कार्यक्रममा उपस्थित सांसदहरुले सूर्तिजन्य पदार्थ नियन्त्रण गर्न गर्न आफूहरु लाग्ने बताए । कार्यक्रममा विश्व स्वास्थ्य
संगठनका नेपालप्रतिनिधी डा जोस भेन्डरले सूर्तिजन्य पदार्थ नियन्त्रण गर्न कर बढाउनपर्नेमा जोड दिएका थिए ।

स्वागत मन्तब्य दिंदै एक्सन नेपालका अध्यक्ष आनन्दबहादुर चन्दले सूर्तिजन्य पदार्थको  नियन्त्रणका लागि कानुन कार्यान्वयनमा कडाई गर्न ढिलो गर्न नहुने बताए ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार