रोल्पामा रक्तदान गर्ने बढे
रोल्पा : जिल्लामा रक्तदान गर्नेको सङ्ख्या बढ्न थालेको छ। केही वर्ष पहिले रगत दान गरे कमजोर भइन्छ, विभिन्न रोग लाग्छ भन्ने गलत धारणा रहेको स्थानीयवासीमा विस्तारै चेतनाको स्तर बढ्दै गएको हो।
‘ब्लड फर रोल्पा’ अभियानमार्फत रक्तदान गर्नेको संख्या बढेको हो। ‘एक दुई वर्ष पहिले रक्तदान गर्नुपर्यो भन्दा प्रायः सबैले विभिन्न बहाना पारेर रगत दिँदैनथे। बिरामीको ज्यान जसरी पनि जोगाउनु पर्यो, चिकित्सक हामी आफैँले रगत दिएर कतिको ज्यान जोगायौँ’, जिल्ला अस्पताल रोल्पाका सिनियर अहेव कुलबहादुर डाँगीले भने।
“जिल्ला अस्पतालमा सामग्री र दक्ष जनशक्तिको अभाव छैन, खाली अभाव छ त आकस्मित रक्तसञ्चार सेवाको । पटक–पटक चिकित्सकले रक्तदान गरेर बिरामीको ज्यान जोगाए भनेको कति पटक सुनेँ’,अभियानकर्मी विनोद डाँगीले भने, ‘यस क्षेत्रमा केही गर्नुपर्छ भनेर हामीले ‘ब्लड फर रोल्पा’ अभियान सञ्चालनमा ल्याएका हौँ।’
अभियानका लागि मोबाइल एप्ससमेत सञ्चालनमा ल्याएको उनले बताए। एप्समा रगत दिन चाहनेको रक्त समूह, नाम, ठेगाना, मोबाइल नम्बर सबै राखिएको हुन्छ, जिल्ला अस्पताललाई आवश्यक पर्दा खबर आएपछि रक्तदान गर्ने गरेको उनले बताए। अभियानमा ८० युवा जोडिइसकेका छन् भने २५ ले रक्तदान गरिसकेका छन्।
हाल नेपाल रेडक्रस सोसाइटी रोल्पाले पनि आकस्मिक रक्तसञ्चार सेवालाई प्रभावकारी बनाउन विभिन्न अभियान सञ्चालन गरिरहेको छ। जिल्लामा विभिन्न स्थानमा रक्त समूह पहिचान गर्ने, रक्तदान गर्न अभिप्रेरित गर्ने, रक्तदान गर्दा हुने फाइदाका बारेमा जनचेतना फैलाउने तथा विभिन्न व्यक्तिको नाम, ठेगाना, सम्पर्क नम्बर सङ्कलन गर्ने कार्यलाई तीव्रता दिएको जिल्ला सभापति डिबी टुहुरोले जानकारी दिए।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?