Health TV Online
Health TV Online

बर्डफ्लु परीक्षण : १७२ जनाको नमुना जापान पठाइयो

बर्डफ्लु परीक्षण : १७२ जनाको नमुना  जापान पठाइयो

काठमाडौं  : नेपालमा बर्डफ्लुबाट एकजनाको मृत्यु भएपछि उनको नजिक गएका १७२ जनाको नमुना संकलन गरी सरकारले परीक्षणका लागि जापान पठाएको छ।

सोमबार जापानको डब्लुएचओ कोलाबोरेटिङ सेन्टर फर इन्फ्लुएन्जा प्रयोगशालामा नमुना पठाइएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको समाचार मंगलबारको नयाँ पत्रिका दैनिकमा छ । गत १५ चैतमा काभ्रेका २१ वर्षीय युवकको बर्डफ्लु संक्रमणबाट ज्यान गएको थियो । सोही ल्याबले ती युवकलाई एच फाइभ एन वान भाइरस लागेको प्रमाणित गरेको थियो।

सरुवारोग विशेषज्ञहरूका अनुसार बर्डफ्लु भाइरस टाढाबाट सर्दैन। एक मिटरको दूरीमा मात्रै यो भाइरस एकबाट अर्कोमा सर्न सक्छ । ‘त्यसैले हामीले संक्रमित मानिसको नजिक आएका एक सय ७२ जनाको नमुना संकलन गरी जापान पठाएका हौँ,’ महाशाखाका एक अधिकारीले भने। महाशाखाका अनुसार एक मिटरको दूरीमा पनि धेरैपटक आवतजावत भएपछि मात्रै यो भाइरस सर्छ । तर, हालसम्म मान्छेबाट मान्छेमा बर्डफ्लु सरेको छैन।

युवक बिरामी भएपछि उनको सम्पर्कमा आएका व्यक्तिको नमुना संकलन गरिएको छ । जसमा उनको परिवार र आफन्त सातजना छन् भने उनको उपचारमा संलग्न अस्पतालका एक सय ६५ जना छन्। चिकित्सक, नर्स र अन्य कर्मचारीको पनि नमुना संकलन गरिएको महाशाखाले जानकारी दिएको छ । मृतक युवकको काठमाडौंका दुई अस्पतालमा उपचार गरिएको थियो। अस्पताल र मृतकको परिवारको अनुरोधमा उपचार गरिएका अस्पतालको नाम खुलाइएको छैन।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार