काठमाडौंको प्रदूषण मापदण्डभन्दा पाँच गुणा खराब, बच्चाहरूमा बढ्दै मुटु र फोक्सोसम्बन्धी समस्या
काठमाडौं : संघीय राजधानी काठमाडौंको प्रदूषण मापदण्ड भन्दा पाँच गुणा खराब भए पनि सरकारी अधिकारीहरूले नियन्त्रणका लागि नीतिगत अवरोध रहेको बताएका छन्।
देशभर नै प्रदूषणको मात्रा बढ्दै गएको र त्यसमा पनि काठमाडौंको स्थिति भयावह बनेको विज्ञहरूले बताएका छन्। काठमाडौंको प्रदूषण निक्कै बढेको भन्दै चिकित्सकहरूले त्यसबाट बच्नका लागि बजारमा पाइने साधारण मास्क पर्याप्त नहुने बताएका छन्।
काठमाडौं लगायत देशका अन्य ठूला शहरहरूमा मुख्य रूपमा सवारीसाधनबाट निस्कने धुवाँका कारण प्रदूषण बढ्दै गएकाले यसलाई नियन्त्रण गर्नुपर्ने र पुराना सवारीसाधन चलाउन रोक्नुपर्ने उनीहरूले बताएका छन्। तर सरकारी अधिकारीहरू भने यसलाई रोक्न आवश्यक एकीकृत प्रयास हालको नीतिगत व्यवस्थाले रोकिरहेको स्वीकार गर्छन्।
प्रदूषणको मात्रा
काठमाडौंमा मात्र प्रदूषणको मापदण्ड विश्व स्वास्थ्य सङ्गठनले तोकेको भन्दा करिब पाँच गुणा बढी रहेको र त्यो नेपालको मापदण्डभन्दा झण्डै तीन गुणा बढी रहेको विज्ञहरू बताउँछन्।
काठमाडौंको प्रदूषण बढाउन वरपरका इँट्टाभट्टाबाट निस्कने धुवाँको मुस्लो पनि उत्तिकै कारक रहेको बताइन्छ। त्यसैले यसबाट बच्नका लागि एन ९५ भनेर चिनिने विशेष प्रकारको मास्क आवश्यक पर्ने प्रदूषणबारे अध्ययनहरू गरेका जनस्वास्थ्यविज्ञ डा. खेम कार्कीले बताए।
उनी भन्छन्, ‘एन९५ भन्ने मास्क पाइन्छ बजारमा त्यो अलि महङ्गो छ। त्यस्तै केही हदसम्म ‘सर्जिकल मास्क’ भनेर र बजारमा पाइने तीन तहको मास्कको प्रयोग गर्न सकिन्छ। यसले ओसिलो भएर नबिग्रिँदासम्म काम गर्छ तर बजारमा पाइने धेरै जसो मास्कबाट धुवाँ धूलोबाट बच्न सकिँदैन।’
सवारीसधानबाट निस्कने प्रदूषण स्वास्थ्यका लागि सबैभन्दा हानिकारक हुने विज्ञहरुको भनाइ छ। प्रदूषणको स्तर अहिले बिहान र बेलुका अझ बढी देखिएको छ।
स्वास्थ्यमा असर
सरकारले असार मसान्त सम्ममा नेपालभर प्रदूषण मापन केन्द्रहरू काठमाडौंभित्र चार ठाउँमा गरेर सात ठाउँमा स्थापना हुने र त्यसले अवस्थाको पहिचान गर्न सघाउने बताएको छ।
तर थुप्रै चिकित्सकहरूले बढ्दो प्रदूषणको माग मानिसहरूमा दीर्घरोगको रूपमा देखिन थालेको भन्दै सरकारी ढिलासुस्तीप्रति चिन्ता व्यक्त गर्छन्।
त्यसले पार्ने असरबारे जनस्वास्थ्यविज्ञ डा.कार्की भन्छन्, ‘पुराना सवारी साधनबाट निस्कने प्रदूषणले मुटु र फोक्सोमा एकदम असर पार्छ। बच्चाहरूमा पनि यसको असर बढ्दै गएको देखिएको छ।’
तर प्रदूषणको एउटा मुख्य स्रोत सवारीको धुवाँ जाँचको जिम्मा आफूसँग नभएको वातावरण विभागले जनाएको छ, जसले गर्दा जिम्मेवारीका सम्बन्धमा नीतिगत रूपमा एकीकृत प्रयासको खाँचो रहेको विज्ञहरू बताउँछन्।
गुनासो
प्रदूषणबाट बच्चाहरूको फोक्सोमा समस्या उत्पन्न हुने गरेको छ, जसको माग संशोधनमा जान लागेको वातावरण ऐनमा प्रस्ताव गरिएको बताउँछन् वातावरण विभागका महानिर्देशक नारायणप्रसाद सापकोटा, ‘वातावरणमा प्रदूषण गर्नेलाई हामीले कारवाहीको लागि सिफारिस गर्न मिले पनि सिधै कारवाही गर्ने अधिकार छैन त्यसैले यो अवस्थालाई परिवर्तन गर्न अहिले बन्न लागेको नयाँ कानुनमा हामीले बन मन्त्रालयबाट प्रस्ताव गरेका छौँ।’
पछिल्लो समय बढ्दै गएको प्रदूषणको मात्रालाई न्यूनीकरण गर्न सरकारबाट प्रतिबद्धता नदेखिएको गुनासो आउने गरेको छ। पुराना सवारी साधनलाई हटाउँदा मात्रै पनि हालको अवस्थामा उल्लेखनीय सुधार आउने विज्ञहरूको भनाइ पाइन्छ।
यस्तै विद्युतीय सवारी साधनको प्रयोग गर्नतर्फ पनि जोड दिनुपर्ने उनीहरूको भनाइ छ। प्रदूषणका कारण मानव स्वास्थ्यमा गम्भीर असर परेको अध्ययनहरूले देखाएका छन्।
वायु प्रदूषणले खासगरी बालबालिका र वृद्धवृद्धाको स्वास्थ्यमा नराम्रो असर पर्ने गरेको छ। संसारका अति प्रदूषित शहरमा पर्ने दिल्लीमा सन् २०१५ मा गरिएको एक अध्ययनले १० मध्ये चार बच्चा गम्भीर खालको फोक्सोको समस्याबाट पीडित भएको देखाएको थियो।
वायु प्रदूषणको नकारात्मक असर बौद्धिकतामा
नेपालमा त्यस्ता अध्ययन नभए पनि चिकित्सकहरूले आफूकहाँ श्वासप्रश्वासका बिरामी बढेको भन्दै केही समय अघि काठमाडौंको प्रदूषण नियन्त्रण गर्न सरकारलाई दबाब दिने उद्देश्यले सडक कार्यक्रम समेत गरेका थिए।
बीबीसी नेपालीबाट





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’