चार महिनादेखि तलब नपाएपछि सुशील कोइराला क्यान्सर अस्पतालका कर्मचारी आन्दोलित
नेपालगञ्ज : बाँकेको खजुरामा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालका कर्मचारी एवम स्वास्थ्यकर्मी लामो समयदेखि तलब नपाएपछि आन्दोलनमा उत्रिएका छन्।
उनीहरूले शुक्रबार अस्पतालका कार्यकारी निर्देशक डा. विश्वराम पौडेलसमक्ष ७२ घण्टे अल्टिमेटम पत्र बुझाएका छन्। चार महिना बितिसक्दा समेत तलब नपाएपछि आन्दोलन गर्न बाध्य भएको अस्पतालमा कार्यरत एक कर्मचारीले बताए। उनले भने, ‘खाली पेट कहिलेसम्म काम गर्ने? न नियुक्ति पत्र छ, न त तलब नै?’ समयमा तलब दिन नसक्नेले अस्पताल किन खोल्नुपरेको भन्दै उनले गुनासो गरे।
अस्पतालका निर्देशक डा. पौडेलले अस्पतालमा यसै पनि कर्मचारी कम भएको र भएकालाई पनि तलब नपठाएपछि काम गराउन समस्या भएको बताए। ‘खै यो अस्पताल सञ्चालनमा साह्रै अप्ठेरा आइरहेका छन्। पहिले नाममा समस्या भयो। त्यसपछि संघमा राख्ने कि, प्रदेशमा भन्ने विवाद भयो। अहिले आएर तलबका कारण कर्मचारी आक्रोशित छन्।’
उनले सरकारको प्राथमिकतामा यो अस्पताल पर्न नसकेको पनि जिकिर गरे। यसका साथै स्थानीय नेताहरु पनि अझै सशक्त भएर नलागेसम्म अस्पतालमा काम कारवाही अघि नबढ्ने उनले बताए। ‘विशिष्टीकृत सेवा दिने अस्पताल भनिएको छ। न त जनशक्ति छ, न त प्रविधि नै, कसरी सेवा दिने?’ उनले गुनासो गरे।
मध्यपश्चिमका बासिन्दाको आशाको केन्द्रको रूपमा रहेको क्यान्सर अस्पताल समयमा सञ्चालन हुन नसक्दा स्थानीय बिरामी अन्य अस्पतालमा जान बाध्य छन्। केही महिना अघि देखि ‘किमोथेरापी’ दिन शुरु गरेको भए पनि क्यान्सरका बिरामीलाई चाहिने शल्यक्रिया एवं ‘रेडियोथेरापी’का लागि पहल नै हुन सकेको छैन।
भवन सम्पन्न भएको वर्षौँ बित्दा समेत सेवा सञ्चालनमा ढिलाइ भइरहेको छ। अस्पताल स्थानीय बासिन्दाको पहलमा शुरु भएर पछि सरकारलाई हस्तान्तरण गरिएको थियो।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’