तिलगंगा आँखा अस्पतालले गर्यो ‘रेटिनोब्लास्टोमा’ सचेतना कार्यक्रम
काठमाडौं : रेटिनोब्लास्टोमा (आँखाको क्यान्सर) सम्बन्धी चेतना जगाउने उद्देश्यले विश्व रेटिनोब्लास्टोमा सचेतना सप्ताहमा तिलगंगा आँखा प्रतिष्ठानले छलफल कार्यक्रम गरेकाे छ।
प्रतिष्ठान तथा आँखाको प्लास्टिक शल्य चिकित्सा सम्बन्धी नेपाली चिकित्सक समाजको संयुक्त आयोजनामा आइतवारदेखि सचेतना सप्ताह समेत शुरु भएको हो।
सप्ताह उद्घाटन गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा.पुष्पा चौधरीले अस्पतालको प्रसूति वार्डमा गर्भवती तथा सुत्केरी महिलालाई यो रोगबारे चेतना दिनुपर्ने धारणा राखिन्। प्रतिष्ठानका कार्यकारी निर्देशक प्रा.डा. सन्दुक रुइतले गाउँघरका बिरामीहरू शुरुमा सामुदायिक आँखा केन्द्र जाने भएकोले यो रोगको जनचेतना जिल्लास्थित सामुदायिक आँखा केन्द्रमा प्राथमिकताका साथ गर्नुपर्ने बताए।
आँखाको क्यान्सर विशेषज्ञ डा.पूर्णिमा राजकर्णिकारले प्रतिष्ठानमा वार्षिक ३५ देखि ४० को संख्यामा नयाँ बिरामी आउने गरको जानकारी दिइन्। अहिले नयाँ प्रविधिको प्रयोग गरी शल्यक्रिया नगरीकनै उपचार गर्ने गरेको बताइन्।
यस्तै ओपन आई ग्लोबलले नेपाल क्यान्सर रोग निवारण संस्थाका अध्यक्ष लोकेन्द्रकुमार श्रेष्ठमार्फत प्रतिष्ठानलाई ४० जनाका लागि नक्कली आँखा निःशुल्क उपलब्ध गराउन चार लाख रूपैयाँको चेक प्रतिष्ठानका कार्यकारी अधिकृत डा.रिता गुरुङलाई हस्तान्तरण गरियो ।
जेठ ४ गतेसम्म चल्ने सप्ताहभर जनचेतनाका लागि पर्चा, पम्प्लेट,स्टिकर टाँस्ने, बालबालिकामा चित्रकला प्रतिस्पर्धा गराउने र आमसञ्चारका विभिन्न माध्यमबाट यो रोगसम्बन्धी जानकारी दिइने बताइएको छ ।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’