स्वास्थ्य शिविरमा लिए ५२८ बिरामीले सेवा
म्याग्दी : बेनी नगरपालिका– ३ भकिम्लीमा शनिबार सम्पन्न बृहत निःशुल्क स्वास्थ्य शिविरबाट ५२८ बिरामीले निःशुल्क उपचार पाएका छन्।
बेनी नगरपालिकाको आयोजना र बेनी अस्पतालको प्राविधिक सहयोगमा आयोजित शिविरमा भकिम्लीका विभिन्न बस्तीबाट बालबालिकादेखि वृद्धवृद्धाले सेवा लिएका आयोजक बेनी नगरपालिकाका प्रवक्ता रामकृष्ण बराइलीले जानकारी दिए।
‘स्वास्थ्य सेवामा सर्वव्यापी पहुँच, सबैका लागि स्वास्थ्य’ भन्ने नारासहित सञ्चालित बृहत तथा निःशुल्क स्वास्थ्य शिविरबाट ४०९ महिला र ११९ पुरुषले सेवा लिएकाे प्रवक्ता बराइलीले बताए। उनका अनुसार शिविरमा भिडियो एक्सरे १०८, सुगर परीक्षण ९९ र २९ ले दाँतसम्बन्धी सेवा लिएका थिए। बेनी नगरपालिकाले चालू आर्थिक वर्षमा बेनपा ३, ४ र ९ नं. वडामा स्वास्थ्य शिविर सञ्चालन गर्न रु आठ लाख बजेट विनियोजन गरेको थियो। शिविरमा ६१ महिलाको पाठेघरको जाँच र क्यान्सर रोगको परीक्षण समेत गरिएको थियो।
बेनी अस्पतालका डा. नवराज बस्ताकोटीको नेतृत्वको चिकित्सक तथा स्वास्थ्यकर्मीको टोलीले बिरामीलाई सेवा प्रदान गरेको थियो। पछिल्लो समय चिनी रोगका बिरामी बढ्दै गएको पाइएको हुँदा खानपानमा ध्यान दिनुपर्ने, शारीरिक व्यायाम गर्नुपर्ने र नियमितरूपमा औषधि सेवन गरे यो रोगलाई न्यूनीकरण गर्न सकिने डा. बस्ताकोटीले बताए।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण