Health TV Online
Health TV Online

नर्सकाे आन्दोलनमा ऐक्यबद्धता जनाउँदै बरालले शुरू गरिन् आमरण अनशन

केन्द्रकी नर्स शेर्पा पनि अनशन बस्दै

नर्सकाे आन्दोलनमा ऐक्यबद्धता जनाउँदै बरालले शुरू गरिन् आमरण अनशन

काठमाडौं  : भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका नर्सहरूको मागमा ऐक्यबद्धता जनाउँदै नर्स जिता बरालले आमरण अनशन शुरू गरेकी छिन्। कास्की पोखराको फिस्टेल हस्पिटलको प्रिन्सिपल रहेकी नर्स बराल लाजिम्पाटस्थित नर्सिङ संघको भवनमा अनशन बसेकी हुन्।

आन्दोलन शुरु गरेको १६औं दिनसम्म कसैले आफूहरुको माग पूरा नभएको भन्दै अनशन शुरु गरेकाे उनले बताइन्। ‘अहिलेसम्मको आन्दोलन प्रत्यारोपण केन्द्रमा कार्यरत नर्सहरूलाई परेको अन्यायमा केन्द्रित थियाे’, बरालले भनिन्, ‘अबको आन्दोलन देशभरका नर्सहरूमाथि भएको शाेषणविरुद्ध हुनेछ।

नर्सलाई कि स्वयंसेवी घोषणा गर्न चुनाैती दिँदै उनले श्रमिकअन्तर्गत राख्ने हो भने श्रमको सम्मान गर्न सरकारसँग आग्रह गरिन्। ‘घरपरिवार, दिनरात नभनी नर्सहरूले न्यून पारिश्रमिकमा काम गर्ने कहिलेसम्म?’ उनले प्रश्न गरिन्।

संघ परिसरमै अनशन किन भन्ने प्रश्नको जवाफमा बरालले भनिन्, ‘नर्सको हकहितका लागि भन्दै मत मागेर हिँडेका अगुवा नर्सले अन्यायमा परेका वेला हाम्रा माग सरकारसम्म पुर्याउन कुनै पहलकदमी गरेनन्। त्यसैले अभिभावक संस्थालाई घच्घच्याउन  यहाँ आएर अनशन बसेकी हुँ।’

यसैबीच केन्द्रकी नर्स डिकी शेर्पा पनि अनशन बस्ने भएकी छिन्। उनले शुक्रबार विज्ञप्ति जारी गर्दै साँझ ६ बजेदेखि अनशनमा बस्न लागेकाे जानकारी दिइन्।

पाँच महिनादेखि पुराना कर्मचारीलाई स्थायी गर्नुपर्ने, काम र अनुभव हेरेर बढुवा गर्नुपर्ने, आफ्ना मान्छेलाई छानेर राख्नुभन्दा काम गर्दै आएकालाई प्रोत्साहन गर्नुपर्ने, जोखिम भत्ता प्रदान गर्नुपर्ने जस्ता माग राख्दै प्रत्याराेपण केन्द्रका नर्सहरू आन्दोलनमा छन्।

नेपाल नर्सिङ संघले मे १२ मा नर्सिङ दिवस मनाउन तयारी पूरा भएकाे जानकारी दिँदै गर्दा शुक्रबारदेखि नै दुई नर्सले आमरण अनशन थालेका हुन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार