गर्भवतीलाई आयोडिनयुक्त नुन
कैलाली : टीकापुर नगरपालिका–६ स्थित नारायणपुर स्वास्थ्यचौकीले गर्भजाँच गर्न आउने महिलालाई आयोडिन नुन वितरण गर्ने गरेको छ। स्वास्थ्यचौकीले नियमित गर्भजाँच र स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलालाई सात प्याकेट आयोडिनयुक्त नुन उपलब्ध गराउँदै आएको हाे।
‘चारपटक नियमित गर्भजाँच गर्न आउँदा प्रत्येक पटक एक प्याकेट नुन र तीन प्याकेट सुत्केरी भएपछि दिने गरेका छौँ’, स्वास्थ्यचौकी प्रमुख हिमाल सारुमगरले भने, ‘नुन वितरण गर्न थालेपछि गर्भजाँच गर्नेको सङ्ख्या अघिल्लो वर्षको तुलनामा बढेको छ।’ गत आर्थिक वर्षमा स्वास्थ्यचौकीमा ८४ ले सुत्केरी सेवा लिएका थिए। यो वर्ष नियमित गर्भजाँच गराउँदै सुत्केरी सेवा लिनेको सङ्ख्या चैतको अन्त्यसम्म ९७ पुगेको छ।
एघार सय घरधुरी रहेको वडा नं. ६ मा ७० प्रतिशत जनजातिको बस्ती छ। स्वास्थ्यचौकीले बालबालिकाको शीघ्र कुपोषण व्यवस्थापनका लागि पौष्टिक आहारसमेत उपलब्ध गराउँदै आएको छ। बालबालिकालाई कुपोषण भए\नभएको पहिचान स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयंसेविकाले गर्छन्।
टीकापुर–६ का वडाध्यक्ष बलीराम चौधरीले गर्भवतीको सेवाका लागि अन्य खर्च कटाएर भए पनि बजेट विनियोजन गरिएको बताए। यो कार्यक्रमबाट विपन्न महिलाले लाभ उठाएका छन्’, वडाध्यक्ष चौधरीले भने, ‘ग्रामीण जनताका लागि स्वास्थ्य पहिलो प्राथमिकता भएकाले नीति बनाएर स्वास्थ्यका कार्यक्रम गर्दैछौँ।’





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?