निःशुल्क स्वास्थ्य शिविरमा १०१ अपाङ्गता भएका व्यक्तिले लिए सेवा
अछाम : मेल्लेख गाउँपालिका–३ मा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरमा १०१ अपाङ्गता भएका व्यक्तिले सेवा लिएका छन्।
शिविरमा सात जनाको ‘माइनर’ शल्यक्रिया गरिएको छ भने १६ जनालाई शल्यक्रियाका लागि सिफारिस गरिएको छ। यस्तै दुईजनालाई सहायक सामग्री वैशाखी र ह्विलचियर उपलब्ध गराइएको छ भने चारलाई सहायक सामग्री उपलब्ध गराउन नाप लिइएको छ। शिविरकै अवसरमा अन्य ९० लाई अपाङ्गतासम्बन्धी अभिमुखीकरण र ८३ लाई परमर्श सेवासमेत दिइएको छ।
मेल्लेख गाउँपालिकाको आयोजना र विकलाङ्ग मित्र समूह, अपाङ्ग बाल अस्पताल तथा पुनःस्थापना केन्द्र काभ्रेको प्राविधिक सहयोगमा सञ्चालन भएको सो शिविरमा गाउँपालिकाले २३ लाई अपाङ्गता परिचयपत्र वितरण गरेको छ। गाउँघरमै अपाङ्गता भएका लागि स्वास्थ्य शिविर र सरकारी सुविधा उपलब्ध भएपछि अपाङ्गता भएका व्यक्ति खुशी भएको स्थानीय लालबहादुर चदाराले बताए।
गाउँपालिकासँगको सहकार्यमा अपाङ्गताको उपचारसँगै निःशुल्क औषधि तथा फिजियोथेरापी सेवा उपलब्ध गराएको अपाङ्ग बाल अस्पताल तथा पुनःस्थापना केन्द्रका नेत्रबहादुर देउजाले जानकारी दिए।
अपाङ्गता भएका व्यक्तिलाई पनि साङ्गसरह जीवन जिउनका लागि स्थानीय सरकारमार्फत पनि आवश्यक कार्यक्रम अघि बढाउने मेल्लेख गाउँपालिकाका अध्यक्ष लोकबहादुर बोहराले बताए।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’