‘रोगी बाख्राको मासु काँचै खाँदा बिरामी’
डोटी : आदर्श गाउँपालिका वडा नं १ मेलगडामा गत शनिबार स्थानीय बासिन्दा बिरामी पर्नुको कारण रोगी बाख्राकाे मासु भएको चिकित्सकले जनाएका छन्।
शनिबार गाउँमो बाख्रा काटेर मासु खाँदा दुई वर्षीयादेखि ४० वर्षीयसम्मका बिरामी परेका थिए। काटिएको बाख्रामा रोग भएका कारण पूरै गाउँले बिरामी परेको दिपायल पिपल्लास्थित शैलेश्वरी अस्पतालका तथा चिकित्सक तथा निर्देशक आइजङ्ग कुँवरले बताए। रोग लागेको बाख्राकाे मासु नपोलेर काँचै खाएका कारण मानिस बिरामी भएको उनले बताए।
केही महिनाअघि उक्त गाउँपालिकामा फैलिएको अज्ञात रोगका कारण दर्जनौँ चौपाया मरेका थिए। त्यही अज्ञात रोगले बिरामी परेका बाख्रा काटेर खाँदा रोग लागेको उपचारमा संलग्न चिकित्सकको जिकिर छ।
बिरामी १५ जनामध्ये १३ जना उपचारपछि घर फर्किएका छन्। दुई जनाको अवस्था भने गम्भीर रहेको उपचारमा संलग्न चिकित्सकले जनाएका छन्। उनीहरूको अवस्था अहिलेसम्म पनि सुधार हुन नसकेको अस्पतालले जनाएको छ।
बाख्राको मासु खानेहरूलाई पखालासहित झाडाबान्ता भएको थियो। सुदूरपश्चिमका अधिकांश ठाउँमा बोकाबाख्रा मन्दिरमा चढाएका वा घरैमा काटेका वेला पोलेको कान, कलेजो, गिदी, आँखा, मुटु र छाला नुनतेलमा साँधेर काँचै खाने चलन छ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?