प्राथमिक स्वास्थ्य केन्द्रको एक्सरे मेसिनमा माकुराकाे जालाे
झापा : कनकाई नगरपालिकामा रहेको प्राथमिक स्वास्थ्य केन्द्रको एक्सरे र अन्य स्वास्थ्य उपकरण प्रयोगमा आएका छैनन्। आमनागरिकको सेवाका लागि सरकारबाट अनुदान प्राप्त ती उपकरण प्रयोगमा नआउँदा बिरामीको स्वास्थ्य परीक्षण हुन सकेको छैन।
स्वास्थ्य केन्द्रमा अत्यावश्यक भएको ठहर गरी स्वास्थ्य बीमाले एक वर्षअघि दिएको अर्को एक्सरे मेसिनसमेत गोदाममा थन्किएको छ।
केही दिन अघि मात्र स्वास्थ्य केन्द्रको नयाँ भवनमा एउटा एक्सरे मेसिन सारिएको छ भने आवास गृहमा रहेको अर्को मेसिन लामो समयदेखि प्रयोगमा नआउँदा माकुराको जालो लागेको छ।
प्रतिगोटा करीब पाँच लाख रुपैयाँ पर्ने एक्सरे मेसिन स्वास्थ्य केन्द्रको गोदामभित्र थन्किएपछि स्थानीय स्तरमा रहेको स्वास्थ्य अस्पतालबाट पाउने एक्सरे सेवाबाट स्थानीयवासी वञ्चित रहँदै आएका छन्।
एक्सरे मेसिन मात्र होइन स्वास्थ्य केन्द्रलाई एक वर्ष अघि एक संस्थाले अनुदान दिएको १५ लाख रुपैयाँ भन्दा बढीको स्वास्थ्य परीक्षणसँग सम्बन्धित अत्याधुनिक उपकरणसमेत अहिलेसम्म स्वास्थ्यको गोदामभित्रै थन्किएका छन्।
स्थानीयवासीले मान्यता प्राप्त सरकारी स्वास्थ्य केन्द्रमा सहज तरिकाले पाउनु पर्ने सेवाबाट पर्याप्त फाइदा लिन नसकेको केन्द्रमा कार्यरत जिम्मेवार स्वास्थ्यकर्मीले समेत बताउँदै आएका छन्।
प्राथमिक स्वास्थ्य केन्द्रमा बिरामीको स्वास्थ्य परीक्षण गर्न डाक्टरका लागि व्यवस्थित किसिमको बिरामी परीक्षण कक्ष नहुँदा बिरामीको स्वास्थ्य परीक्षण गर्न नै समस्या हुने गरेको केन्द्रका डा. प्रवीण भट्टराईले बताए।
स्वास्थ्य सेवाका लागि नयाँ अस्पताल भवन तयारी हालतमा रहेको भए पनि सञ्चालनमा आउन नसक्दा सबै पक्षलाई समस्या पर्दै आएको बताइएको छ । प्राथमिक स्वास्थ्य केन्द्र सुरुङ्गाको नवनिर्मित भवन निर्माण कार्य सम्पन्न भएको एक वर्ष बितिसक्दा पनि सञ्चालनमा नआउँदा स्थानीयबासी अन्याेलमा छन्।
अस्पताल सञ्चालनमा ढिलाइ भएकै कारण दाताबाट प्राप्त भएका १५ लाख रुपैयाँ भन्दा बढी मूल्य पर्ने उपकरणहरू प्रयोगविहीन हुँदा नष्ट भएर जाने अवस्थामा पुगेको बताइन्छ।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’