Health TV Online
Health TV Online
Health TV Online

प्रहरी प्रशासनले दमन गरेको भन्दै नर्सहरुले गरे कडा निन्दा

प्रहरी प्रशासनले दमन गरेको भन्दै नर्सहरुले गरे कडा निन्दा

काठमाडौं : सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा कार्यरत नर्सहरुले उचित माग राख्दै शान्तिपूर्ण आन्दोलनमा उत्रिँदा समेत प्रहरी प्रशासनले धरपकड र  ज्यादती गरेको भन्दै गम्भीर आपत्ति जनाएका छन् ।

अस्पताल प्रशासनले गरेको विभेदकारी व्यवहारको विरुद्धमा शान्तिपूर्ण आन्दोलन गर्दा प्रहरी प्रशासन लगाएर स्वास्थ्य मन्त्रालयबाटै पक्राउ गरेको भन्दै उनीहरुले उक्त कदमको कडा निन्दा गरेका हुन् ।उनीहरुले शनिबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उक्त अस्पतालमा कार्यरत र हाल आन्दोलनरत नर्सहरुले आन्दोलनकै क्रममा प्रहरी प्रशासनले शुक्रबार साँझ स्वास्थ्य मन्त्रालय हाताभित्रैबाट आफूहरुलाई पक्राउ गरेको भन्दै कडा आलोचना  गरे।

अस्पतालका कर्मचारीको भविष्यमाथि नै खेलबाड गर्नेगरी स्थायी विज्ञापन गरिएको र स्थापनाकालदेखि कार्यरत विभिन्न तहका कर्मचारीहरुलाई अन्याय हुनेगरी सूचना निकालिएकोप्रति असन्तुष्टि जनाउँदै आफूहरु बैशाख ११ गतेबाट पुर्व सूचनासहित चरणबद्ध आन्दोलनमा उत्रिएको उनीहरुले जानकारी दिए ।

पटक–पटक वार्ता भन्दै कर्मचारीहरुलाई न्यायोचित निर्णयमा नपुर्याउने र एकतन्त्रीय शासन लगाएर सबै कर्मचारी विस्थापित गराउने अस्पतालको सोच देखिएकोले आफूहरु पूनः चरणबद्ध आन्दोलनमा उत्रिएको पनि उनीहरुले आक्रोस पोखे ।

नेपाल नर्सिङ संघ सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रकी ईकाई अध्यक्ष मिना खर्बुजाले अस्पताल प्रशासनले नर्सहरुमाथि विभेदकारी कदम चालेको र अन्यायमा पारेको सुनाईन् । उनले भनिन्,‘२०७२ सालमा नेपाल सरकारले स्थापनाकालदेखि कार्यरत कर्मचारुहरुलाई स्वतः स्थायी गर्ने भनेरपत्र पठाएको थियो । तर, त्यो लागू भएन।’

पत्रकार सम्मेलनमा पीडित नर्सहरुले आ–आफ्ना गुनासो र पीडाहरु सुनाएका थिए । उक्त अस्पतालमा कार्यरत र अस्प्तालले दुई वर्ष अघि निस्काशन गरी पूनःवहाली गरिएकी नर्स सजना देउलाले नेपाल नर्सिङ संघ अहिले कमजोर भएको गुनासो पोखिन् । उनले भनिन्,‘हाम्रो अभिभावक संस्था नै कमजोर हुँदा देशभरिका नर्सहरु अन्याय र शोषणमा परेका छन् ।’ अन्यायमा परेका नर्सहरुलाई न्याय दिलाउन नसक्ने हो भने संघकी अध्यक्षले तत्काल राजीनामा दिनुपर्ने समेत उनको भनाई थियो ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार