Health TV Online
Health TV Online
Health TV Online

सरकारी अस्पतालकाे १०० मिटर वरिपरी सुर्तीजन्य पदार्थ बिक्री वितरण र उपभोग गरे कारबाही

सरकारी अस्पतालकाे १०० मिटर वरिपरी सुर्तीजन्य पदार्थ बिक्री वितरण र उपभोग गरे कारबाही

 

काठमाडौं : अब अस्पतालको १०० मिटर वरिपरी सुर्तीजन्य पदार्थ बिक्री वितरण र उपभोग गर्न नपाइने भएको छ। नेपाल प्रहरी, काठमाडौं महानगरपालिका र सम्बन्धित अस्पताल प्रशासन सम्मिलित बैठकले यो नियम लागु गर्ने विषयमा शुक्रबार यस्ताे प्रतिबद्धता जनाएका हुन्।

समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत महानगरीय प्रहरी परिसर काठमाडौंको आयोजनामा सुर्तीजन्य पदार्थको प्रयोग नियन्त्रण सम्बन्धी विशेष अभियानका लागि आयोजित बृहत छलफल कार्यक्रममा तीनै निकायका प्रमुखहरूले पहिलो चरणमा काठमाडौं महानगर क्षेत्रभित्र पर्ने १० वटा सरकारी अस्पताल क्षेत्रमा सुर्तीजन्य पदार्थको बिक्री वितरणमा रोक लगाउन सामूहिक प्रतिबद्धता जनाए।

पहिलो चरणमा काठमाडौंका निजामित कर्मचारी वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, कान्ति बाल अस्पताल, प्रहरी अस्पताल, सैनिक अस्पताल, प्रसूति गृह, शुक्रराज ट्रपिकल अस्पताल, आयुर्वेद अस्पताल, शहीद गंगालाल हृदय केन्द्र, (सिभिल) अस्पताल र तिलगंगा आँखा अस्पताल एकसय मिटर वरिपरी सुर्तीजन्य पदार्थ बिक्री र उपभोगमा बन्देज लगाइने छ ।

१५ दिनसम्म ती १० वटै अस्पतालको ३ सयफिट वरिपरि जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिने र १६औँ दिनदेखि ती निषेधित क्षेत्रमा सुर्तीजन्य पदार्थ बिक्री तथा उपभोग गरेमा जरिवानासहित कारवाही गरिने नेपाल प्रहरी, महानगरपालिका र सम्बन्धित अस्पताल प्रशासनले जनाएको छ ।

अभियान सफल पार्नका लागि शुक्रबार आयोजित छलफल कार्यक्रममा १० वटै सरकारी अस्पतालका प्रमुख, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अधिकारी, काठमाण्डौ महानगरपालिका जनस्वास्थ्य विभाग, काठमाडाैं प्रहरी परिसर, सम्बन्धित प्रहरी वृत्त प्रमुख, सम्बन्धित वडाध्यक्ष, प्रहरी वडा समन्वय समितिका पदाधिकारीहरू सहभागी थिए ।

यो अभियान क्रमशः महानगरका अन्य नीजि अस्पताल, विद्यालय, कलेज र सार्वजनिक ठाउँमा क्रमशः लागु गरिने परिसरका प्रमुख, प्रहरी वरिष्ठ उपरिक्षक (एसएसपी) वसन्तकुमार लामाले बताए ।

सार्क अन्कोलोजी फेडरेसनका अध्यक्ष, वरिष्ठ क्यान्सर विशेषज्ञ डा.राजेन्द्रप्रसाद बरालले नेपाल अर्वुदरोग निवारण संस्थाले यसअघि नै सुर्तीजन्य पदार्थको बिक्री वितरणमा रोक लगाउनुपर्छ भनेर सामूहिक हस्ताक्षर सरकारलाई बुझाइए पनि सुनुवाइ नभएको गुनासो गरे।

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार