Health TV Online
Health TV Online
Health TV Online

जाेखिमपूर्ण अवस्थाका दुई महिलाको उद्धार

जाेखिमपूर्ण अवस्थाका दुई महिलाको उद्धार

हुम्ला : जोखिमपूर्ण अवस्थामा रहेका जिल्लाका दुई महिलाको बुधबार हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।

बुधबार बिहान कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री दल रावलसहितको टोली हुम्ला पुगेर चङ्खेली गाउँपालिका–६ स्थित मेल्छाम स्वास्थ्यचौकीमा कार्यरत अनमी निशा नेपाली र ओदानचुली गाउँपालिका–१ का ३५ वर्षीया राजकला महतारालाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरेको हो । १४ गते राति २ बजेदेखि उच्च रक्तस्रावले अनमी नेपाली थला परेकी थिइन्।

३३ वर्षीया अनमी नेपालीको उद्धारको पहल भइरहेका बेला ओदानचुली गाउँपालिका निवासी राजकला महतारा पनि सुत्केरी भएर समस्या भएपछि थप उपचारका लागि प्रदेश अस्पातल सुर्खेतमा ल्याइएको सामाजिक विकासमन्त्री रावलले बताए।

अनमी नेपालीको तीन महीना पहिले गर्भ खस्दा औषधि गरेर आफ्नो कार्यक्षेत्र हुम्ला मेल्छाम स्वास्थ्य चौकीमा फर्किएकी थिइन्। सुत्केरी व्यथा लागेकी महतारा बच्चा जन्मन नसक्दा मंगलबारदेखि पीडा सहेर बसेकी थिइन्।

उपचारका लागि दुवैलाई कर्णाली प्रदेश अस्पताल सुर्खेतमा लगिएको छ। नेपाली र महताराको स्वास्थ्योपचार भइरहेको र अवस्था खतरामुक्त रहेको प्रदेश अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. डम्बर खड्काले जानकारी दिए।

मन्त्री रावलले केही समयका लागि हेलिकप्टरबाट उद्धार गरिए पनि प्रत्येक स्थानीय तहमा एक\एक वटा प्राथमिक स्वास्थ्य केन्द्र स्थापना गरेर एक\एक जना विशेषज्ञ चिकित्सक राख्ने बताए।

यसका लागि स्वास्थ्य मन्त्रालयलाई अनुरोध गर्ने र त्यहाँबाट सम्भव नभएको खण्डमा प्रदेश सरकारले आफ्नै खर्चबाट भए पनि त्यस्तो सेवा उपलब्ध गराउने योजना बनाएको मन्त्री रावलको भनाइ छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार