Health TV Online
Health TV Online
Health TV Online

किन दाेहाेरिरहन्छ कर्णालीमा बर्सेनि मौसमी रुघाखोकी?

किन दाेहाेरिरहन्छ कर्णालीमा बर्सेनि मौसमी रुघाखोकी?

काठमाडौं : चैतको अन्तिम साता हुम्लाको ताँजाकोट गाउँपालिकामा साँस्कृतिक कार्यक्रम, राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता र एसईई  (माध्यमिक शिक्षा परीक्षा) सञ्चालन भए।

तीन कार्यक्रम एकै समयमा सञ्चालन भएकोले गाउँभरिका मान्छेहरू एकै ठाँउमा जम्मा भए। यसले गाउँभरि नै मौसमी रुघाखोकीको सङ्क्रमण फैलिएको अनुमान गरिएको छ।

सङ्क्रमणका कारण १० जनाले ज्यान गुमाए। सयौँ बिरामी परे।

कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार मौसमी रुघाखोकीले दुई वर्ष अघि पनि जाजरकोटको मजकोटमा १२ जनाको मृत्यु र तीन हजार दुई सय बिरामी परेका थिए।

२०७१ चैत्र र २०७२ बैशाखमा जाजरकोटमै फैलिएको मौसमी रुघाखोकीबाट २७ जनाको मृत्यु भएको थियो भने एक हजार चार सय ३८ जना बिरामी परेको निर्देशनालयका वरिष्ठ जनस्वास्थ्य अधिकृत चेतननिधि वाग्लेले बताए।

गत वर्ष कालिकोटमा मौसमी रुघाखोकी देखिए पनि कसैको पनि मृत्यु भएको थिएन।

हुम्लामा मात्र हैन, कर्णाली प्रदेशका जाजरकोट, कालिकोट र दैलेख लगायतका जिल्लाका विकट गाउँहरूमा मौसमी रुघाखोकी र झाडापखालाले बर्सेनि सर्वसाधारणको ज्यान लिने गरेको वाग्लेले बताए।

२०६६ सालमा जाजरकोटमा फैलिएको झाडापखालाको महामारीले डेढ सयभन्दा बढीको मृत्यु भएको निर्देशनालयले बताएको छ।

पोषणयुक्त खानेकुरा, औषधी र दक्ष स्वास्थ्य जनशक्तिको अभावले गर्दा पनि दुर्गम गाउँमा वर्षेनी समस्या बल्झिने गरेको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. विवेककुमार लालले सरसफाइको कमी, शुद्ध खानेपानीको अभाव र कुपोषणजस्ता कारणले त्यहाँका बासिन्दामा रोग प्रतिरोधात्मक क्षमता कमजोर हुने भएकाले मौसमी रुघाखोकीका कारण पनि ज्यान जाने गरेको बताए।

यस्ता समस्या आउन नदिन नियमित स्वास्थ्य सेवालाई सुदृढ बनाउनु पर्ने बताइन्छ। तर दुर्गम गाउँका स्वास्थ्य संस्थामा स्तरीय सेवा दिन प्रयोगशाला र दक्ष जनशक्ति छैनन्।

‘भौतिक पूर्वाधारलाई मात्र विकास मान्ने चलन छ’, लालले भने, ‘जबसम्म शिक्षा र स्वास्थ्यजस्ता आधारभूत कुरामा पर्याप्त लगानी गरिँदैन तबसम्म यस्ता खालका समस्या दोहोरिरहन्छन्।’

बर्सेनि हुने यस्ता समस्या रोकथामका लागि सङ्घ, प्रदेश र स्थानीय सरकारसँग समन्वय गरेर योजना बनाउन आवश्यक रहेको लालले बताए।

बीबीसी नेपालीबाट

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार