स्वास्थ्य बिमा गरेका बिरामीलाई छुट्टै बहिरङ्ग
चितवन : भरतपुर अस्पतालले बिमा गरेका बिरामीका लागि छुट्टै विभाग खोलेर बहिरङ्ग सेवा दिन शुरु गरेको छ । बिमाका बिरामीको चाप बढेपछि अस्पतालले नयाँ विभाग शुरु गरेको हो।
अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट प्रा.डा. कृष्णप्रसाद पौडेलका अनुसार अस्पताल आउने बिरामीमध्ये झण्डै आधा बिमाका भएपछि सहज सुविधा दिने उद्देश्यले नयाँ विभाग शुरु गरिएको हो। उनका अनुसार बिमाका दैनिक ६०० बिरामी अस्पताल आउने गरेका छन्।
बिमा नभएका बिरामीको सङ्ख्या ७०० हाराहारी हुने गरेको उनले बताए। सो बहिरङ्ग सेवामा चार जना चिकित्सक रहने व्यवस्था गरिएको छ। बिमा गरेकाले अन्य विभागबाट पनि सेवा लिनसक्ने व्यवस्था गरिएको पौडेलले बताए।
हरेक दिन बिहान ९ बजेदेखि ३ बजेसम्म सेवा दिन सक्ने गरी बहिरङ्ग सेवा खोलिएको हो। अन्य बिरामीका लागि बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म बहिरङ्ग सेवा सञ्चालन गरिएको छ। अस्पतालका सूचना अधिकारी गोपाल पौडेलका अनुसार सरकारले हाल बिमाका बिरामीलाई प्रथम सेवा बिन्दुको रूपमा प्राथमिक स्वास्थ्य केन्द्र र सरकारी अस्पताल तोकिएकाले सरकारी अस्पतालमा बिरामीको भीड लाग्ने गरेपछि बहिरङ्ग सेवा थप गरिएकाे हाे।
निःशुल्क स्वास्थ्य बिमाअन्तर्गत देशका ४२ जिल्लामध्ये चितवनमा सबैभन्दा बढी सङ्ख्यामा बिमा गरेको कार्यालयले जनाएको छ। स्वास्थ्य बिमा बोर्ड चितवनका अनुसार जिल्लामा दुई लाखभन्दा बढीले स्वास्थ्य बिमा गरेका छन्।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?