Health TV Online
Health TV Online
Health TV Online

अज्ञात रोगबाट परिवार नै बिरामी, दुईजनाकाे मृत्यु

अज्ञात रोगबाट परिवार नै बिरामी, दुईजनाकाे मृत्यु

गाईघाट : उदयपुरको मध्यपहाडी रौतामाई गाउँपालिका–६ को नामन्तमा एउटै वंशका दाजुभाइका समाल मगरका घरपरिवार नै एकै प्रकारका अज्ञात रोगबाट सिकिस्त बिरामी हुँदै आएका छन् भने दुईजनाको मृत्यु भइसकेको छ।

पाँच वर्षदेखि शरीर काम्ने र हल्लिने हातखुट्टा झमझमाउने रोगबाट ग्रसित हुँदै आएका समाल मगर परिवारमा श्रीमान् दुर्गाबहादुर समाल मगर र श्रीमती अम्बिका समाल मगरको अज्ञात रोगको कारण मृत्यु भइसकेको छ।

अहिले अन्य दाजुभाइ जेठा दाजु, माइला दाजु र साइला दाजुका सन्तान र तीनपुस्ते वंशभित्रका सम्पूर्ण समाल मगरमा यो अज्ञात रोग सर्दै गएपछि सबै समाल मगर परिवारनै रोगबाट ग्रसित बन्न पुगेको स्थानीय छिमेकी कृष्णबहादुर मगरले बताए।

पाँच वर्षभन्दा पनि लामो समयदेखि एउटै बाजे र दाजुभाइका सन्तानमा यो अज्ञात रोग देखा परेको र यसको विभिन्न स्थानमा बिरामीलाई लगेर उपचार गराउँदासमेत रोग पत्ता लगाउन नसकिएको छिमेकी कृषबहादुर बताए।

शुरुमा पाँच वर्ष अघि घरबाट मलेसिया गएका जेठोको सन्तान दुर्गाबहादुर समाल मगरलाई यो अज्ञात रोगले भेटेको मृतक दुर्गाबहादुर मगरका भिनाजु विष्णु मगरले जानकारी दिए।

दुर्गाबहादुर मलेसियाबाट घरफर्केर आएपछि हातखुट्टा काम्ने, थर्थराउने रोगले छोएको कारण पटक–पटक राजधानी काठमाडौँलगायतका अस्पतालमा समेत उपचार गराउँदा पनि रोग पत्ता नलागेको र उपचार हुन नसकेपछि एक वर्ष अघि दुर्गाबहादुरको मृत्यु भएको भिनाजु विष्णु मगर बताउँछन्।

त्यसपछि दुर्गाबहादुर मगरको श्रीमती अम्बिका समाल मगरलाई यो रोगले छोएको एक वर्षमा अम्बिकाको पनि मृत्यु भएको हो।

अहिले यो अज्ञात रोग माइलाका सन्तान बलबहादुर समाल मगर, बुहारी हिरामाया आलेमगर र उनीहरूको घर परिवारतर्फ सरेपछि दुवै समाल परिवारका नौजना सदस्य यतिखेर अज्ञात रोगको कारण सिकिस्त बिरामी परेको छिमेकी बताउँछन्।

यस्तै साइलाका सन्तान र छोराछोरीमा समेत यो रोग सर्न थालेपछि अहिले दुर्गाबहादुर समाल मगरको तीनपुस्ते वंशभित्र सबैमा यो रोग विस्तारै सर्दै गएर प्रभावित पार्न थालेको छ।

समाल परिवारका सबै दाजुभाइ सन्तान यो अज्ञात रोगबाट ग्रसित बन्दै गएपछि स्थानीय छिमेकी तथा नातागोताले उनीहरुको सेवा गरिदिने खाना पकाएर खुवाउनेदेखि सम्पूर्ण काम गरिदिने गरेको स्थानीय छिमेकी पार्वती मगरले बताइन्।

एकातिर रोग पत्ता लाग्न नसक्नु, अर्कोतर्फ उपचार पनि सफल हुन नसक्नु र दिनानुदिन सबै शाखा, सन्तानलाई अज्ञात रोगले गाँजेपछि अहिले नामन्तका समाल परिवारको वंशनै नाश हुने अवस्था आएको स्थानीय पार्वती मगरले बताइन्।

यसतर्फ समयमा नै स्थानीय जनप्रतिनिधि तथा सरोकारवाला निकाय र जनप्रतिनिधिको उचित ध्यान जानुपर्ने र अज्ञात रोगको विषयमा पनि गम्भीर अनुसन्धानका लागि राज्यको तर्फबाट नै पहल थाल्नुपर्ने रौतामाई गाउँपालिकाका उपाध्यक्ष कुमारी ठकुरीकाे भनाइ छ।

अज्ञात रोग विस्तारै सर्दै गएर सम्पूर्ण समाल परिवारलाई प्रभावित बनाएपछि कतै यो रोग अन्यत्र छिमेकीमा पनि सर्ने त्रास रहेकाे गणेशबहादुर मगर बताउँछन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार