डडेल्धुरामा औलोको जोखिम बढ्याे
डडेल्धुरा : डडेल्धुरामा चालू आर्थिक वर्षको हालसम्म औलोका आठ बिरामी भेटिएको छ भने डडेल्धुरासँगै पाहाडी जिल्ला डोटी अछाम, दार्चुला, बैतडी, बझाङसमेत औलोको जोखिममा रहेको उक्त कार्यालयले जनाएको छ। अप्रिल
२५ तारिख अर्थात् विश्व औलो दिवसकाे अवसरमा जिल्ला जनस्वास्थ्य कार्यालयले आयोजना गरेको पत्रकारसँगको अन्तर्क्रियामा सराेकारवालाले यस्ताे बताएका हुन्।
विदेशबाट फर्कने नेपालीमा औलोको सङ्क्रमण देखिने गरेको उक्त कार्यालयका भेक्टर कन्ट्रोल सुपरभाइजर हरिप्रसाद भट्टले जानकारी दिए। औलो रोग निवारण गर्न सम्बन्धित स्वास्थ्यचौकीमार्फत् आमा समूहसम्म विभिन्न किसिमका जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको उनले बताए।
सुदूरपश्चिम प्रदेशका ३१ वटा वडा औलोको उच्च जोखिमा छन् भने ९१ वडा मध्यम जोखिममा रहेको तथ्याङ्कले देखाएको छ। डडेल्धुरा जिल्लाको पनि भित्री मधेशमा पर्ने पर्शुराम नगरपालिका र आलिताल गाउँपालिकामा औलोको बढी जोखिम रहेको भेक्टरकन्ट्रोल सुपरभाइजर भट्टको भनाइ छ।
लामखुट्टेको टोकाइका कारण मानिस तथा अन्य केही जनावरमा सर्ने औलो प्लाज्मोडियम समूहका प्रोटोजोआ परजीवीका कारण लाग्छ। लामखुट्टेको टोकाइबाट परजीवी शरीरमा प्रवेश गरेमा १० देखि १५ दिनमा लक्षण देखिन थाल्छ। घर–घर तथा समुदायमा औलोसम्बन्धी जनचेतना फैलाउने, औलो रोगका लक्षणबारे जानकारी दिने, शङ्कास्पद बिरामीले तुरुन्त परीक्षण गर्ने गरेमा औलो रोगबाट बच्न तथा बचाउन सकिने चिकित्सक बताउँछन्।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?