जिल्ला अस्पताल एक वर्षदेखि प्रमुखविहीन
संखुवासभा : जिल्ला अस्पतालमा एक वर्षदेखि प्रमुखविहीन हुँदा सेवाग्राहीले समस्या भाेग्नु परेको छ। जिल्ला अस्पतालका कर्मचारीसँग विवाद भएपछि प्रमुख डा. विनितकुमार झा एकवर्ष अघि सरुवा भएर गएका हुन्।
जिल्ला अस्पतालमा आउने अधिकांश प्रमुख कर्मचारीको आन्तरिक विवादले बस्न नसक्ने बताउँदै अस्पताल छाड्ने गरेका छन्। जिल्ला बाहिरबाट आएका कार्यालय प्रमुख कर्मचारीको विवादले कार्यकाल नसकिँदै छोटो समयमै सरुवा भएर जाने गरेका छन्।
यसअघि डा. विष्णुबहादुर बस्नेत, डा. दयाशंकरलाल कर्णलगायत कार्यकाल पूरा नहुँदै सरुवा भएर गएका थिए। प्रमुख नहुँदा अस्पताल व्यवस्थापन सेवा प्रवाह समेत अस्तव्यस्त हुन पुगेको छ। कर्मचारीले भने अनुसारको सुविधा नदिएको भन्दै कार्यालय प्रमुखमाथि हातपात समेत भएको थियो।
कर्मचारीको खिचातानी र विवादले अस्पतालको सेवा प्रवाह समेत खस्किँदै गएको छ। दक्ष चिकित्सक भए पनि प्रभावकारी सेवा नभएको भन्दै सेवाग्राही निजी स्वास्थ्य संस्था जानु परेको सेवाग्राहीको गुनासो छ। जिल्ला अस्पतालमा ५० शय्याको भएपछि ११ औ तहको चिकित्सक हुनु पर्ने भए पनि आठौँ तहका मेडिकल अधिकृत मात्र रहेका छन्।
एक वर्षदेखि प्रमुख नहुँदा आठौँ तहका मेडिकल अधिकृतले निमिक्तको रूपमा काम गरिरहेका छन्। जिल्ला अस्पतालमा ५१ जनाको दरबन्दी रहे पनि हाल १९ जना रिक्त रहेका छन्। ८ जना विशेषज्ञ हुनु पर्नेमा सबै पद रिक्त रहेको छ। जिल्ला अस्पतालमा आन्तरिक मेडिसिन, बाल रोग, स्त्री तथा प्रसूति, शल्य चिकित्सक, हाडजोर्नी, नशा रोग, रेडियोलोजिष्ट र जनरल फिजिसियन विशेषज्ञको पद रिक्त छ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण