Health TV Online
Health TV Online
Health TV Online

आँखा उपचारकाे गन्तव्य बन्दै भरतपुर आँखा अस्पताल

आँखा उपचारकाे गन्तव्य बन्दै भरतपुर आँखा अस्पताल

भरतपुर : आँखाको उपचारमा सेवा सुविधा विस्तार हुँदै गएपछि यहाँका धनाढ्य पनि उपचारका लागि बाहिर जान छाडेका छन् ।

नेपाल नेत्रज्योति संघले यहाँ सञ्चालन गरेको भरतपुर आँखा अस्पतालमा आँखाका सबै खालका उपचार हुन थालेपछि बाहिर जानेको सङ्ख्या घटेको हो।

विगतमा यहाँका धनाढ्य, व्यावसायिक घरानाका व्यक्ति, पहुँचवाला, उच्च पदस्थ व्यक्तिहरू आँखाको उपचारका लागि काठमाडौँ र विदेश जाने गर्थे। तर अहिले आँखाको उपचारका लागि भारतसँगै काठमाडौँ लगायतका महत्त्वपूर्ण शहरबाट यहाँ बिरामी आउन थालेका हुन्।

कम खर्चमा घरमै बसेर उपचार गर्न पाइने भएपछि सबैको आँखाको उपचारको रोजाइ भरतपुर बनेको हो।

निजी क्षेत्रको नभएर समुदायको अस्पतालले विशिष्ट किसिमको सेवा दिन थालेपछि जिल्ला, छिमेकी जिल्ला र भारतीय भूमिबाट आउने बिरामी लाभान्वित भएका छन् । आँखा उपचारमा झण्डै तीन दशकको अनुभव संगालेका वरिष्ठ रेटिना विशेषज्ञ प्रा. डा. रघुनन्दन बेन्जुको नेतृत्वमा आठ विशेषज्ञ चिकित्सकले अस्पतालमा उपचार गर्छन्।

डा बेन्जुले भरतपुर आँखा अस्पतालले नानी प्रत्यारोपणसहित सबै खालका विशेषज्ञ सेवा दिँदै आएको बताए। आँखाको उपचारका लागि बाहिर जान नपर्ने उनको दाबी छ । सङ्घका सभापति एवं आँखा अस्पतालका अध्यक्ष कृष्णराज धरेल दक्ष जनशक्ति, अत्याधुनिक उपकरण, समुदायको सहयोग र सहानुभूति लगायतका कारण भरतपुर आँखा अस्पताल स्तरीय सेवा दिन सक्षम भएको बताउँछन्।

विगतका वर्षमा सङ्घकै सदस्य आँखाको उपचारका लागि बाहिर जाने गरे पनि पछिल्ला वर्षमा बाहिरबाट समेत बिरामी आउने क्रम बढेको उनले बताए। धरेलका अनुसार अस्पताल र यसका सेवा केन्द्रमार्फत वर्षमा एक लाख ७६ हजारभन्दा बढी बिरामीको उपचार गरिँदै आएको छ। अस्पतालले झण्डै छ हजार जनाको शल्यक्रिया गर्ने गरेको छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार