असुरक्षित गर्भपतन गराउनेको सङ्ख्या बढ्दो
काठमाडौं : नेपालमा गत वर्ष ९६ हजार ४१७ मात्र महिलाले सुरक्षित गर्भपतन गराएका थिए। तर प्रति एक घण्टामा २१ महिलाले असुरक्षित गर्भपतन गराउँछन्। अर्थात् बर्सेनि एक लाख ८६ हजार १४४ असुरक्षित गर्भपतन हुने गरेको अनुमान छ।
अर्को अध्ययनका अनुसार ४२ प्रतिशत सुरक्षित र ५८ प्रतिशत असुरक्षित गर्भपतन हुन्छ। १५ देखि १९ वर्ष समूहका विवाहितामध्ये ८५ प्रतिशतले परिवार नियोजन साधन प्रयोग नगर्ने पछिल्लो स्वास्थ्य सर्वेक्षणले देखाएको थियो ।कानुनीरूपमा सुरक्षित गर्भपतनको शुरु भएको १६ वर्ष पुगिसक्यो। २०५९ असोज १० गते यसले कानुनी मान्यता पाएको थियो।
याे अवधिमा १३ लाखले सुरक्षित गर्भपतन गराएका छन्। गर्भपतनले कानूनी मान्यता पाएको जानकारी आम महिलासम्म नहुँदा असुरक्षित गर्भपतनकाे सङ्ख्या बढिरहेको नेपाल परिवार नियोजन संघकी वरिष्ठ जनसञ्चार अधिकृत जमुना सिटौला बताउँछिन्।
समुदाय तहमा हुने मृत्युमध्ये १३ प्रतिशत असुरक्षित गर्भपतनका कारणले भइराखेको छ। पछिल्लो स्वास्थ्य सर्वेक्षणका अनुसार १९ प्रतिशत महिला अनिच्छित गर्भ राख्न बाध्य हुन्छन्। विशेषगरी शहरी क्षेत्रमा भ्रूण पहिचान गरी गर्भपतन गराउनेको सङ्ख्या बढ्दो छ। स्वास्थ्य मन्त्रालयले २०७३ कात्तिक २ गतेदेखि गर्भपतन सेवालाई निःशुल्क बनाएको छ ।
‘सुरक्षित गर्भपतन सेवालाई सबै अस्पतालमा विस्तार गरेका छौँ। एक हजारभन्दा बढी स्वास्थ्य संस्थालाई सूचीकरणसमेत गरेका छौँ’, स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. गुणराज लोहनी भन्छन्, ‘यो सेवाको पहुँचभित्र ल्याउन उच्च प्राथमिकताभित्र छ।’ विशेष अवस्थामा मात्र गरिने १२ हप्तामाथिको गर्भपतन र औषधिद्वारा गरिने गर्भपतन सेवालाई समुदायस्तरसम्म विस्तार गर्न विभागले काम गरिरहेको जनाएको छ ।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’