गर्मी बढेसँगै कैदी बिरामी हुन थाले कैदी
बर्दिवास : बढ्दो गर्मीसँगै महोत्तरीका कारागारमा कैदीबन्दी बिरामी हुने क्रम बढेको छ। क्षमताभन्दा बढी कैदीबन्दी रहेको महोत्तरीको जलेश्वरस्थित कारागारमा पछिल्लोपटक गर्मी बढेसँगै बिरामीको सङ्ख्या बढेको हो।
कारागारमा दम, रुघाखोकी, ज्वरो, निमोनिया र लुतोलगायत रोगका बिरामी बढेको कारागार प्रशासनले जनाएको छ। न्यायिक निकायले थेग्नै नसक्ने गरी कैदीबन्दी पठाइदिने गरेपछि उनीहरूको बसाइ व्यवस्थापन गर्न गाह्रो भएको र योसँगै बिरामी हुने क्रम बढेकाले चुनौती थपिएको कारागार प्रशासनले जनाएको छ।
अहिले दिनहुँ नियमित उपचार लिनेको सङ्ख्या १०० को हाराहारीमा रहेको कारागारका निमित्त प्रमुख एवम वरिष्ठ स्वास्थ्यकर्मी प्रदीपकुमार साहले बताए। १३५ कैदीबन्दी क्षमताको यो कारागारमा अहिले तेब्बरभन्दा बढी भएपछि उनीहरूको बसाइकै अप्ठ्यारोले बिरामी हुने क्रम बढेको उनको भनाइ छ।
कारागारमा पुरुष र महिलाका लागि दुई छुट्टाछुट्टै कक्ष छन्। अहिले महिला कक्षमा दुई आश्रित बालबालिकासहित ४६ र पुरुष कक्षमा ४१९ पुरुष गरी ४६५ कैदीबन्दी छन्। कारागारमा ठाउँ अभावसँगै सीमित शौचालय र धारा मात्र हुँँदा दिसापिसाब गर्न, नुहाउन र लुगा धुन घण्टौँ पालो कुर्नुपर्ने एवं सुत्न बस्नका लागि समेत ठाउँको अभाव हुँदा आफूहरूलाई निकै गाह्रो भइरहेको कैदीबन्दीको गुनासो छ। नियमित सरसफाइ गर्न नपाएर नापेर दिएको चार हात जमिनमा खाँदिएर बस्नुपर्दा आफूहरुमध्ये धेरैलाई लुतो भएको पुरुषकक्षका एक कैदीले बताए।
कैदीबन्दीका लागि जाडो र गर्मीयाममा मौसम अनुसारका दुईपटक लुगा दिइने कानूनी व्यवस्था भए पनि यहाँ कहिल्यै ठिक समयमा यो सुविधा नपाइएको कैदीबन्दीको भनाइ छ। कारागार प्रशासनले कैदीबन्दीको यो गुनासो स्वीकार गरेको छ।




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य