Health TV Online
Health TV Online

छ महिनादेखि बन्द अस्पताल आजदेखि सञ्चालनमा

छ महिनादेखि बन्द अस्पताल आजदेखि सञ्चालनमा

दमौली : जनशक्ति अभावका कारण छ महिनादेखि बन्द रहेको तनहुँको शुक्लागण्डकी नगरपालिका–११ साँखेस्थित ढोर फूलबारी शहीद अस्पताल सञ्चालनमा आएको छ। गत असोजदेखि बन्द अस्पतालमा शुक्लागण्डकी नगरपालिकाले मेडिकल अधिकृतसहित तीन जना कर्मचारी नियुक्त गरेपछि आइतबारदेखि सञ्चालनमा आएको हो।

समुदायबाट सञ्चालित फूलबारी सामुदायिक अस्पताल गत भदौ ३१ गते ढोरफिर्दी स्वास्थ्य चौकीमा समायोजन भएसँगै अस्पताल बन्द भएको थियो। अस्पतालको सेवा शुभारम्भ गर्दै शुक्लागण्डकी नगरपालिकाका प्रमुख किसान गुरुङले नगरवासीलाई गुणस्तरीय सेवा प्रदान गर्न नगरपालिका प्रतिबद्ध रहेको बताए। बन्द अस्पतालमा सरकारको तर्फबाट दरबन्दी सिर्जना नभएपछि आन्तरिक स्रोतबाट नै तलब खुवाउने गरी अस्पताल सञ्चालनमा ल्याइएको उनले जानकारी दिए।

शुक्लागण्डकी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख अजय श्रीवास्तवले नगरको आन्तरिक स्रोतबाट एक मेडिकल अधिकृत, एक स्टाफ नर्स र एक ल्याव असिस्टेन्ट नियुक्त गरिएको बताए। उनका अनुसार अस्पतालमा १५ शय्या सञ्चालनमा छ।

अस्पतालबाट तनहुँको शुक्लागण्डकी नगरपालिका र स्याङजाको बिरुवा, हरिनास गाउँपालिका र पुतलीबजार नगरपालिकावासीले सेवा लिँदै आएका छन्।

जर्मनी स्वयंसेवी संस्था इभी कासेलको सहयोगमा सञ्चालित सामुदायिक अस्पताल सरकारलाई हस्तान्तरण गरिएको थियो। २०५५ फागुनमा कासेलको सहयोगमा छब्दी र भक्कलमा फूलबारी सेवा केन्द्रका रूपमा सञ्चालित अस्पताल एक दशकयता साँखेबाट सञ्चालित छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार