Health TV Online
Health TV Online
Health TV Online

सरकारले खटाएकाे ठाउँमा जान्न भन्ने चिकित्सकलाई कारवाही किन नगर्ने? : स्वास्थ्यमन्त्री

सरकारले खटाएकाे ठाउँमा जान्न भन्ने चिकित्सकलाई कारवाही किन नगर्ने? : स्वास्थ्यमन्त्री

काठमाडौं : उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले आन्दोलन गरेर हजारौँ जनताको स्वास्थ्यमाथि खेलबाड गर्ने सरकारी चिकित्सकहरूमाथि तत्काल कारबाही प्रक्रिया अघि बढाउने चेतावनी दिएका छन्।

काठमाडौंमा सोमबार स्वास्थ्य अनुसन्धान परिषदमा भएको कार्यक्रममा पत्रकारहरूसँग कुरा गर्दै मन्त्री यादवले नियममा नबसी अराजक गतिविधि गर्ने चिकित्सकलाई कारबाही गर्ने चेतावनी दिएका हुन्। ‘सरकारी कर्मचारी भएर सरकारकै विरोधमा उत्रिने?’ उनले प्रश्न गरे, ‘तपाईँहरूलाई कारबाही किन नगर्ने?’

कर्मचारी समायाेजनका क्रममा कुनै पनि कर्मचारीलाई मर्कामा नपारेकाे भन्दै उनले सरकारी चिकित्सक पनि  नियम कानुनकाे अधीनमा बस्नुपर्ने बताए। ‘उपचार गर्दिन भन्ने पनि कहिँ डाक्टर हुन्छ’, उनले भने, ‘काठमाडौंमा मात्रै बस्छु। शहरमा मात्रै बस्छु भन्ने प्रवृत्ति मान्य हुँदैन।’

सरकारी चिकित्सकप्रति  आक्राेशित देखिएका यादवले अब सरकारी चिकित्सकसँग वार्ता गर्ने वा अर्को सहमति खोज्ने प्रश्न नै नआउने भन्दै सरकारले खटाएको स्थानमा जुनसुकै हालतमा जानुपर्ने बताए।

‘जनताले खाई नखाई गरेर तिरेको पैसाले तलब खाने अनि उनीहरूको स्वास्थ्यमाथि नै खेलबाड गर्ने’, उनले भने, ‘यो अपराध कुनै पनि हालतमा क्षम्य हुन सक्दैन।’

कर्मचारी समायोजनकाे विराेध गर्दै सरकारी चिकित्सकहरूले चार दिनदेखि आकस्मिकबाहेकका सबै सेवा बन्द गरी आन्दोलन गरिरहेका वेला स्वास्थ्यमन्त्री यादवको यस्तो भनाइ आएको हो।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार