Health TV Online
Health TV Online
Health TV Online

सरकारी चिकित्सकलाई चिकित्सक संघकाे सुझाव, समायाेजन पत्र नबुझ्नुस्

सरकारी चिकित्सकलाई चिकित्सक संघकाे सुझाव, समायाेजन पत्र नबुझ्नुस्

काठमाडौं : नेपाल चिकित्सक संघले सरकारी चिकित्सकहरूको माग अविलम्ब पूरा गर्न सरकारको ध्यानार्षण गरेको छ।

आठौँ र सोभन्दा माथिका तहमा कार्यरत चिकित्सकहरूलाई संघमा पुल दरबन्दीको सिर्जना गरी समायोजन गर्नुको सट्टा उनीहरूको मनोबल गिराएको भन्दै संघले आपत्ति जनाएको छ।

शनिबार विज्ञप्ति जारी गरी समायोजनका कारण दुर्गम जिल्लाहरूमा चिकित्सक अभाव हुने गम्भीर परिस्थिति सिर्जना भएको बताएको छ। उसले समायोजनको पत्र नबुझ्न पनि चिकित्सकहरूलाई सुझाव दिएको छ।

‘हालैको समायोजन सूचीलाई परिमार्जन नगरिएको अवस्थामा देशभरका सम्पूर्ण चिकित्सकलाई समायोजनको पत्र नबुझ्न’, महसचिव डा. लाेचन कार्कीद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘बुझेको खण्डमा त्यसबाट उत्पन्न हुने कुनै पनि परिस्थितिको जिम्मेवार स्वयं आफैँ हुने व्यहोरा सम्बन्धित सबैमा जानकारी गराईन्छ।’

सरकारी सेवामा कार्यरत सम्पूर्ण चिकित्सकहरूले स्वास्थ्य सेवा बहिष्कार गर्न बाध्य हुने परिस्थितिको सिर्जना नगर्न संघले सरकारलाई सुझाव दिएको छ।

‘विद्यमान अवस्थाका कारण कुनै पनि चिकित्सकलाई सरकारी सेवामा प्रवेश गर्न बन्देज लगाउने अवस्थालाई पुनर्विचार गर्न नेपाल चिकित्सक संघ नेपाल सरकार समक्ष पुनः अनुरोध गर्दछ’, संघले भनेको छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार