जुम्लामा सेनाकाे स्वास्थ्य शिविर
सिञ्जा : नेपाली सेनाको श्रीदल गुल्मको आयोजनामा छायानाथ रारा नगरपालिका–९ मुर्माको माझघट्टमा एकदिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको छ। श्रीदल गुल्मको आयोजना र श्री नं २४ फिल्ड एम्बुलेन्स गुल्म जुम्लाको नेपाली सेनाको स्वास्थ्य टोलीको उपस्थितिमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको हो।
शिविरमा झण्डै ३०० बढी स्थानीयवासीको स्वास्थ्य परीक्षण र उपचार गरिएको गुल्मले जनाएको छ। विकट गरीब बस्तीमा औषधि उपचारबाट वञ्चित रहेका स्थानीय नागरिकको स्वास्थ्यमा सुधार ल्याउन शिविरमा जनचेतनासहित ६० प्रकारका औषधि निःशुल्क वितरण गरिएको थियो।
शिविरमा सहभागी भएकामध्ये अधिकांश महिलामा पाठेघर खस्ने र तल्लो पेट दुख्ने समस्या रहेको पाइएको छ। साथै स्थानीयवासीमा ढाड दुख्ने, ग्याष्ट्रिकको समस्या र बालबालिकामा कान पाक्ने समस्या बढी देखिएको उपचारमा संलग्न नेपाली सेनाका डा. विनोद थापाले जानकारी दिए।
शिविरमा नगरपालिकाका मुर्मा, पिना, तुम तथा खत्याड गाउँपालिकाका सेरी, जुम्फै, निगालीबोटका बासिन्दा स्वास्थ्य परीक्षण गराउन आएका थिए।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?