एसईईमा छात्राहरूलाई प्रश्नपत्रसँगै सेनेटरी प्याड पनि
म्याग्दी : माध्यमिक शिक्षा परीक्षा (एसईई) सहभागी हुने छात्राहरूलाई प्रश्नपत्रसँगै सेनेटरी प्याड पनि दिइने भएको छ।
यही चैत १० देखि शुरु हुन लागेको एसईईमा समावेश हुने छात्रालाई गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयले म्याग्दीमा सेनेटरी प्याड वितरण गर्ने भएको हो ।
सामुदायिक विद्यालयमा अध्ययनरत् छात्रा महीनावारी भएकै कारण विद्यालयमा नजाने र विद्यालय छोड्ने गरेको तथ्याङ्कलाई मध्यनजर गर्दै प्रदेशको सामाजिक विकास मन्त्रालयले एसइई परीक्षा प्रभावित नहोस् भनेर म्याग्दीमा सेनेटरी प्याड वितरण गर्ने जनाएको हो।
मन्त्रालयकी प्रमुख महिला विकास अधिकृत तुलसा अर्यालले निमित्त एकाइ प्रमुख केशबहादुर बुढाथोकीलाई १५ हजार बराबरको प्याड खरीद गर्न चेक हस्तान्तरण गरेकी छिन्।
मन्त्रालयका अधिकृत अर्यालले छात्रामा हुने महीनावारीलाई सहजरूपले व्यवस्थापन गरी परीक्षामा सहभागी गराउन प्रदेशभित्रका सबै जिल्लामा सहयोग गरिएको बताइन्। ‘छात्रा महिनावारी भएको समयमा विद्यालयमा सहभागी नहुने गरेको पाएका छौँ। कुनै पनि छात्राको एसइई परीक्षा प्रभावित नहोस् भनेर सेनेटरी प्याड वितरण गर्ने व्यवस्था मिलाएका हौँ’, अर्यालले भनिन्।
एसइई परीक्षा चैत १० गतेदेखि शुरु हुँदैछ। म्याग्दीमा दुई हजार २४२ विद्यार्थी सहभागी हुने परीक्षामा एक हजार १११ छात्रा छन् ।




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य