बर्दिबासमा खुल्दै मेडिकल कलेज
बर्दिबास : महोत्तरीको बर्दिबास नगरपालिकामा मेडिकल कलेज सञ्चालनको काम अघि बढेपछि स्थानीयवासी उत्साहित भएका छन्।
बर्दिवासमा कलेजको पूर्वाधार निर्माण विकास आयोजनाको कार्यालय स्थापना गरिने तयारीसँगै स्थानीयवासीमा खुशी छाएको हो।
बर्दिवासमा अहिले मेडिकल कलेज पूर्वाधार निर्माण विकास आयोजनाको कार्यालय स्थापनाको सबै तयारी पूरा भएको छ। यहाँ स्थापित हुने कार्यालय प्रमुखमा खटिएका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका उपसचिव देवीप्रसाद सुवेदीले कार्यालय स्थापनाको तयारीमा रहेकाे र चैतभित्रै सञ्चालनमा आउने बताए।
सरकारले आर्थिक वर्ष ०७३\७४ मा प्रदेशमा एउटा मेडिकल कलेज स्थापना गर्ने नीति बनाएअनुसार गत फागुन ३ गतेको मन्त्रिपरिषद् बैठकले कलेज स्थापनाका लागि कार्यालय खोल्ने सहमति दिएपछि अहिले काम अघि बढेको हो ।
सङ्घीय सरकारले चालू आर्थिक वर्ष ०७५\७६ मा कलेज पूर्वाधार विकासका लागि ८७ लाख रूपैयाँ छुट्याइएको उपसचिव सुवेदीले जानकारी दिए।
यसबाहेक विश्वविद्यालय अनुदान कोषबाट बर्दिवास, सुर्खेत र बुटवलका लागि मेडिकल कलेजमा १०\१० करोड रकम विनियोजन भएको सुवेदीले बताए। सबै विधाको अध्ययन\अध्यापन हुने बर्दिवास मेडिकल कलेजका लागि ३०० शय्याको अस्पताल पनि निर्माण गरिने सुवेदीको भनाइ छ ।
कलेज स्थापनाका लागि बर्दिवास–४ मा भब्सी र अटाबे पुलबीच पूर्वपश्चिम राजमार्गको उत्तरपट्टि ७५ रोपनी जग्गाको सिफारिश भएको छ । सिफारिश जग्गा वनक्षेत्र परेकाले अहिले यसबारे अन्तिम निर्णय हुने प्रक्रियामा रहेको बर्दिवास नगरपालिकाका प्रमुख विदुरकुमार कार्कीले बताए।




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य