Health TV Online
Health TV Online
Health TV Online

२० वर्षदेखि क्यान्सरसँग जुध्दै राष्ट्रसेवामा

२० वर्षदेखि क्यान्सरसँग जुध्दै राष्ट्रसेवामा

चितवन : क्यान्सर शब्द सुन्नेबित्तिकै जोकोही झस्किने गर्छन्। तर, भरतपुर–७ कृष्णपुरका विष्णुप्रसाद पौडेल क्यान्सरसँग जुधेर सहज जिन्दगी बिताइरहेका छन्।

त्यतिमात्र कहाँ हो उनी क्यान्सर सचेतनामा समेत सक्रिय छन्। डिभिजन वन कार्यालय चितवनका प्रमुख पौडेल रोग लागे पनि उनी अहिलेसम्म लामो बिदा बसेका छैनन्। यसअघि उनले नवलपरासी, मकवानपुर, चितवनमा वन अधिकृतका रूपमा काम गरेका थिए।

अहिले ५४ वर्षका उनी रोग पहिचान भएका बेला उनी ३४ वर्षका थिए। विवाह गरेको चार वर्ष पुगेको थियो। छोरी थिइन्। घरव्यवहार पनि आफैँले हेर्नुपर्थ्यो। अरुलाई लुकाए पनि उनले दाइलाई रोगबारे सबै कुरा खुलाए। ‘क्यान्सर लाग्यो भन्ने बित्तिकै डराउने समाज थियो, रोग लुकाउन बाध्य भएँ’, उनले भने, ‘तर, उपचार रोकिनँ।’ दुःख गरेरै भए पनि भारत पुगेर उपचार गराएको उनले सुनाए।

बीपी मेमोरियल क्यान्सर अस्पतालमा रगत परीक्षणका क्रममा उनलाई क्यान्सर भएको पत्ता लागेको थियो। त्यहाँका चिकित्सकले उनलाई बोनम्यारो नै ट्रान्सप्लाण्ट गर्न सुझाएका थिए।

‘यहाँ ट्रान्सप्लाण्ट सेवा थिएन, भारत नै जानुपर्थ्याे’, उनले सम्झिए, ‘रोगबारे घरमा समेत भनिनँ, हिम्मत हारिनँ।’ भारत आउने जाने गर्दा पछि परिवारले थाहा पाएको उनले बताए।

मुम्बइको टाटा अस्पतालमा पुनः परीक्षण भयो । बोनम्यारो ट्रान्सप्लाण्ट परिवारका सदस्यबीच ‘म्याच’ नभएपछि घर फर्किए । बोनम्यारो नपाए पनि उनीअनलाइनमार्फत औषधिको खोजीमा लागे। छ महिनाको खोजीपछि उनले म्याक्स फाउण्डेसन नामक संस्थासँग सम्पर्क गरे।

फाउण्डेसनमार्फत उनकाे नाममा निःशुल्क ग्लिभेक भन्ने औषधि आइपुग्यो । संस्थाले ६ महिनासम्म पाैडेलकाे नाममा औषधि पठायो । त्यसपछि सन् २००४ देखि पाटन अस्पतालमै म्याक्सले औषधि पठाउन थाल्यो। अहिले भने उनी पाटनबाट औषधि लिइरहेका छन्। पौडेलले पाँच वर्ष ग्लिभेक, दुई वर्ष निलोटिनिब र डासाटेनिब खाए। अहिले बोसाटेनिब सेवन गरिरहेका छन्।

‘रोग लाग्यो भनेर निरुत्साहित हुनुपर्दैन’ क्यान्सरका बिरामीलाई उनी सल्लाह दिन्छन्, ‘चिकित्सक र अस्पतालको सम्पर्कमा बस्नुस्, औषधि नियमित खानुस्।  ४० वर्ष थप बाँचिन्छ।’ अहिले पनि २० वर्षअघिझैं सक्रिय उनी नियमअनुसार नै चार वर्ष देशको सेवामा सर्मपित बताउँछन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार