Health TV Online
Health TV Online
Health TV Online

ओम अस्पतालमा ‘आरआईआरएस’ प्रविधिद्वारा मिर्गाैलामा पत्थरीकाे उपचार

ओम अस्पतालमा ‘आरआईआरएस’ प्रविधिद्वारा मिर्गाैलामा पत्थरीकाे उपचार

काठमाडौं : ओम अस्पतालले मिर्गौलामा पत्थरीको उपचारका लागि संसारमै पछिल्लो प्रविधि आरआईआरएस भित्र्याएको छ। दूरबीनको सहायताले मिर्गौलाको पत्थरी निकाल्ने शल्यक्रिया ‘रेट्रोग्रेड इन्ट्रारेनल सर्जरी’ (आरआईआरएस) सेवा ओम अस्पतालमा केही समयअघि मात्र सञ्चालनमा आएको हो।

युरोलोजी विभागमा वरिष्ठ युरो सर्जन प्रा.डा. भोलाराज जोशीको नेतृत्वमा युरोलोजिष्ट डाक्टरको टोलीले यो प्रोसिजर शुरु गरेको अस्पतालका प्रबन्ध सञ्चालक बाबुकाजी कार्कीले जानकारी दिए।

मिर्गौलाको पत्थरी झिक्ने पद्धतिमध्ये आरआईआरएस सबैभन्दा पछिल्लो र प्रभावकारी मानिन्छ। यो पद्धतिबाट शल्यक्रिया गर्दा न बिरामीको पेट चिर्नुपर्छ, न त प्वाल नै पार्नुपर्छ।  युराेसर्जन डा. जाेशीका अनुसार यो पद्धतिमा मूत्र नलिबाट मसिनो दूरबिनसहितको तार जस्तो उपकरण मिर्गौलाको पत्थरी भएको भागसम्म पठाइन्छ।

पत्थरीलाई लेजर प्रविधिबाट टुक्रा पारिन्छ र त्यही मसिनो नलीबाट पत्थरी बाहिर झिकिन्छ। घाउ हुने तथा रगत बहने अवस्था नै नआई गरिने शल्यक्रिया भएकाले बिरामी पत्थरी झिकेको केही घण्टामै सामान्य अवस्थामा आउँछ। दोस्रो दिनमै अस्पतालबाट डिस्चार्ज हुनसक्छ।

‘मिर्गौलाको पत्थरी झिक्ने यो पद्धति संसारकै सबैभन्दा ‘लेटेस्ट’ हो। विकसित देशमा यो पद्धति आएको केही वर्ष मात्र भएको छ’, डा. जाेशीले भने,  ‘यो प्रविधि आम सर्वसाधारणको पहुँचमा छैन। अर्थात् खर्चको हिसाबले महँगो छ।’ ओमले सर्वसाधारणलाई लक्ष्य गरी तुलनात्मक रूपमा निकै सस्तोमा यो सेवा शुरु गरेको उनकाे दाबी छ।

जोशीले यो पद्धतीबाट १५ एमएम सम्मको पत्थरी झिक्न सकिने जानकारी दिए । शल्यक्रिया गरेको केही घण्टामै बिरामी सामान्य खाना खान सक्ने, हिँडडुल गर्न सक्ने र तेस्रो चौथो दिनबाट दैनिक कार्य गर्न सक्ने अवस्थामा पुग्ने उनले बताए।

अस्पतालका मेडिकल निर्देशक डा.केपी देवकोटाले आम सर्वसाधारणको पहुचमा उच्चस्तरीय प्रविधि सहितको उपचार सेवा दिने उद्देश्यले ओम अस्पतालले आरआईआरएस सेवा शुरु गरेको जानकारी दिए। ‘यो सेवा अत्यन्त महंगो पर्छ। तर ओम अस्पतालले आम सर्वसाधारणको पहुँचमा पुर्याउन न्यूनतम शुल्कमा यो सेवा शुरु गरेको छ।’

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार