Health TV Online
Health TV Online
Health TV Online

स्वास्थ्यकर्मीले पाएनन् चार महिनादेखिकाे तलब

स्वास्थ्यकर्मीले पाएनन् चार महिनादेखिकाे तलब

तनहुँ  : शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रका स्वास्थ्यकर्मीले चार महिनादेखि तलब नपाएको गुनासो गरेका छन्।

अस्पतालमा कार्यरत ६० मध्ये करारका ५७ स्वास्थ्यकर्मी र कर्मचारीले असोज महीनादेखिको तलब नपाएको गुनासो गरेका हुन्। तीन स्वास्थ्यकर्मी सरकारले काजमा खटाएको स्थायी दरबन्दीका हुन्। चार महिनादेखि तलब नपाउँदा समस्या भएकोे प्रशासन शाखामा कार्यरत नायब सुब्बा पूजा कार्कीले बताइन्।

उपचार केन्द्रका प्रमुख डा. रामकुमार श्रेष्ठले सरकारले बजेट विनियोजन नगर्दा तलब खुवाउन नसकिएको जानकारी दिए। चालू आर्थिक वर्षमा सरकारले अस्पतालका लागि अत्यन्तै न्यून बजेट पठाएको उनले बताए। ‘सरकारले अस्पतालमा कार्यरत कर्मचारीको तलबभत्ता र प्रशासनिक खर्चमा  २० लाख रूपैयाँ पठाएको थियो’, उनले भने,  ‘तर एक महीनामा तलबभत्तामा १५ लाख रूपैयाँ खर्च हुन्छ।’

उनका अनुसार सरकारले पठाएको रकमले एक महिनाको तलब खुवाउन पुगेको छ। उहाँले सरकारले पठाएको रकमबाट साउन महिनाको तलब दिएर पाँच लाख रूपैयाँ बचेको र अस्पतालको आन्तरिक रकम थप गरेर भदौ र असोजकाे तलबभत्ता बाँडेकाे उनले बताए।

२०६७ सालमा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालको नेतृत्वको सरकारले पूर्वप्रधानमन्त्री एवं काङ्ग्रेसका पूर्वसभापति स्व. गिरिजाप्रसाद कोइरालाको स्मृतिमा राष्ट्रियस्तरको श्वासप्रश्वास उपचार केन्द्र स्थापना गर्ने निर्णय गरेको थियो ।

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार