कोलोस्टोमी र युरोस्टोमी ब्याग नेपालमा नबन्दा बिरामीलाई मार
चितवन : मूत्रनली र मलद्वारको क्यान्सरको शल्यक्रियापछि धेरै बिरामीले प्रयोग गर्नुपर्ने प्लाष्टिकको झोला (कोलोस्टोमी र युरोस्टोमी ब्याग) नेपालमा उत्पादन नहुँदा महँगो मूल्यमा खरिद गर्नुपर्ने बाध्यता छ।
ती दुई क्यान्सरको शल्यक्रियापछि उपचार गराइरहेका देशभरका बिरामीको बुधबार सम्पन्न भेलामा उनीहरूले स्वदेशमा झोला उत्पादन गर्न माग गरेका हुन्। बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका उपनिर्देशक एवं मूत्ररोग विशेषज्ञ डा. निर्मल लामिछानेका अनुसार एउटा झोला खरीद गर्न बिरामीले एक हजार ५०० रुपैयाँसम्म तिर्नुपर्छ। अस्पतालले दाता खोजेर स्टोमा सेवा समाजमार्फत न्यून शुल्कमा दिँदै आएको भए पनि सधैँ सबैले पाउने अवस्था छैन।
मूत्रथैलीको शल्यक्रिया गरेकामध्ये ३० प्रतिशत हाराहारीलाई र मलद्वारको शल्यक्रिया गरेकामध्ये २० प्रतिशतलाई यो झोला अनिवार्य हुन्छ। दिसापिसाबको प्राकृतिक बाटो परिवर्तन गरी कृत्रिम रूपमा दिसापिसाब त्याग गर्न झोला प्रयोग गरिन्छ।
एउटा बिरामीलाई न्यूनतम सात दिनमा झोला फेर्नु पर्दछ। जटिल समस्या देखिएमा दैनिकजसो प्रयोग गर्नुपर्ने बाध्यता हुने गरेको छ । कोलोेस्टोमी र युरोस्टोमी झोला अहिले नेपालमा उत्पादन नहुँदा र समय–समयमा नपाउँदा बिरामीलाई समस्या पर्ने गरेको समाजका सचिव मीनबहादुर अछामेले बताए।
अस्पतालले अहिले एउटा झोलाको २० रूपैयाँका दरले वितरण गर्दै आएको छ। अस्पतालमा नपाउँदा बिरामीले महँगोमा खरीद गर्नुपरेको भन्दै अछामेले सबैको पहलमा नेपालमै झोला उत्पादन गर्नुपर्ने बताए।
झापाबाट झोला लिन क्यान्सर अस्पताल आइपुगेका ५९ वर्षीय डोरबहादुर खत्रीले सर्वसुलभरूपमा नपाउँदा लामो यात्रा गरेर अस्पतालमा आउन बाध्य भएको बताए। बाहिर किन्दा महँगो पर्ने भएकाले नियमितरूपमा आएर झोला लैजाने गरेको उनले बताए।
अहिले यो झोला प्रयोग गर्नेमा ५१७ मलद्वार र १५३ मूत्रनलीका बिरामी छन् । अस्टोमेट एशोसिएसन अमेरिकाले वार्षिक चार करोड बराबरको झोला सहयोग गर्दै आएको छ । अस्पतालका कार्यकारी निर्देशक डा. विजयचन्द्र आचार्यले यस्ता बिरामीको उपचारका लागि अस्पतालले नियमित बहिरङ्ग विभाग सञ्चालनमा ल्याउने बताए।
नेपालमा हुने क्यान्सर रोगमध्ये मलद्वारको क्यान्सर छैटौँमा पर्छ भने पिसाब थैलीको सातौँमा पर्छ।




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य