बिमा कार्यक्रम : लक्षित वर्गसम्म पुर्याउनै कठिन

काठमाडौं : सराेकारवालाहरूले स्वास्थ्य बिमा कार्यक्रमलाई सामाजिक न्याय र समानताको आधारमा थप व्यवस्थित गर्नुपर्ने बताएका छन्।
प्राथमिक स्वास्थ्य सेवा स्रोत केन्द्रले बिहीबार आयोजना गरेको सामाजिक सुरक्षा र स्वास्थ्य बीमासम्बन्धी कार्यक्रमका वक्ताले लक्षित वर्गसम्म बिमा कार्यक्रम पुग्नुपर्ने र सामाजिक न्यायलाई समेत सम्बोधन गर्नुपर्ने बताएका हुन्।
कार्यक्रममा स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. गुणराज लोहनीले प्रत्येक नेपाली नागरिक स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध हुनैपर्ने कानूनी प्रावधान रहेको र सरकारले प्रवाह गर्ने स्वास्थ्य सुविधामा सहभागी हुनुपर्ने बताए।
वृद्धाश्रम, अनाथालय, बाल सुधार गृह लगायतका संस्थामा आश्रित व्यक्तिलाई स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध गर्नु त्यस्तो संस्थाको व्यवस्थापकको कर्तव्य हुने र गरीबको बीमा रकम सरकारले तिरिदिने प्रावधान रहेको उनले जानकारी दिए।
यस्तै प्राथमिक स्वास्थ्य सेवा स्रोत केन्द्रका कार्यकारी निर्देशक शान्तलाल मुल्मीले राजनीतिक परिवर्तनसँगै तीन तहको सरकार बनेको र स्वास्थ्य स्थानीय तहको प्रमुख जिम्मेवारीका रूपमा आएकाले स्थानीय तहले नमूना स्वास्थ्य कार्यक्रम गरेर देखाउनुपर्ने धारणा राखे।
जनस्वास्थ्य अभियन्ता प्रा डा. शरदराज वन्तले स्वास्थ्य बीमालाई समानतामा आधारित र सबैको सहज पहुँचका आधारमा विकास गर्नुपर्ने बताए। उपभोक्ता मञ्चका अध्यक्ष ज्योति बानियाँले प्रत्येक नागरिकलाई आधारभूत स्वास्थ्य सेवा निःशुल्क हुनेछ भनेर संविधानमा व्यवस्था गरिएकाले सोहीअनुसार लागू गर्न सरकारको ध्यानाकर्षण गरे।
चिकित्सा शिक्षा आयोगको बैठक : सिट बढाउन सिफारिसपछि निजीले निर्वाह भत्ता दिने
शिक्षक आन्दोलनको रिपोर्टिङमा खटिएकी पत्रकार कार्कीमाथि आक्रमण, आँखामा गम्भीर चोट
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा
चिकित्सकहरूले बिहिबार २ घण्टा स्वास्थ्य मन्त्रालय घेर्ने