धेरै नेपालीलाई हुने ग्यास्ट्राइटिस के हो? कसरी बच्ने?
बोलीचालीको भाषामा ग्यास्टिक भनिने ‘ग्यास्ट्राइटिस’का बिरामी दिनप्रतिदिन बढिरहेका छन्। अव्यवस्थित जीवनशैली र खानपानका कारण ग्यास्ट्राइटिसका बिरामीको संख्या बढ्दो छ।
हामीले खाएको कतिपय खाना र खाने तरिका नमिल्दा पनि यो रोग उत्पन्न भइरहेको हुन्छ। सहज रूपमा पाचन प्रक्रिया हुन सकेन भने ग्यास्ट्राइटिस हुन्छ। यो वायुविकार रोग पनि हो। खानपान समयमै नगर्दा यो रोग सिर्जना हुन्छ र विस्तारै ठूलो रूप लिन्छ।
कसलाई हुन्छ त ग्यास्ट्राइटिस?
यदि तपाँईले दैनिक रूपमा खाने खानाको सन्तुलन मिलेन भने तपाँईलाई ग्यास्ट्राइटिस हुनसक्छ। त्यसबाहेक यदि तपार्इँ धेरै व्रत बस्नुहुन्छ, समयमै खाना खानुहुन्न , लागुपदार्थ सेवन गर्नुहुन्छ, चिल्लो, पिरो, मसालेदार, भुटेको र तारेको खानुहुन्छ, या जंक फुड र बाटोमा राखेका खाना बढी खानुहुन्छ भने तपार्इँले ग्यास्ट्राइटिस निम्ताइरहनु भएको छ।
त्यसैगरी यदि तपाँई बासी खाना, चिया , कफी, सफ्ट ड्रिक्स बढी खानुहुन्छ भने पनि तपार्इँलाई ग्यास्ट्राइटिस हुने बढी सम्भावना हुन्छ।
कसरी थहा पाउने त?
यदि तपार्इँलाई पेट पोल्ने र दुख्ने, पेटको माथिल्लो भाग दुख्ने, एसिडिटी बढ्ने, छाती पोल्ने, वाकवाकी होला जस्तो हुने, लगातार डकार आउने, खान मन नलाग्ने, शरीर दुब्लाउँदै जाने जस्ता लक्षण देखा पर्यो भने ग्यास्ट्राइटिस भएको हुन सक्छ।
ग्यास्ट्राइटिस भएपछि के खाने?
ग्यास्ट्राइटिस भएपछि सबैभन्दा पहिले आफ्नो दैनिक खाना र खाने तरिका परिर्वतन गर्नुपर्छ। नियमित व्यायाम गर्ने , प्रशस्त मात्रामा पानि पिउने,सकेसम्म घरमा बनाएको खाना खाने र जुनसुकै रोगको औषधि चिकित्सकको सल्लाहअनुसार मात्र सेवन गर्ने गर्नुपर्छ। त्यसका साथै रेशा र चोकरयुक्त खानेकुरा खाने, सागसब्जी, लसुन, सलाद–फलफूल, फलफूलको रस, स्याउ, स्ट्रबेरी र मेवा आदिको सेवन गर्ने गर्नुपर्छ।
के नखाने ?
ग्यास्ट्राइटिस भएपछि रक्सी र चुरोटको सेवन नगर्नु राम्राे हुन्छ। त्यसका साथै चिल्लो, पिरो, अमिलो, मसालेदार, तारेको र भुटेको खानेकुराबाट टाढै रहनुपर्छ। दूध हालेको चिया, कफी, सुक्खा खानेकुरा, गालेकाे अचार, खुर्सानी, घिउ, ,रातो मासु, तेल र घिउमा तारेको माछा, मासु, पकौडा, समोसा, केराउ, बदाम, भटमास, नखाँदा ग्यास्ट्राइटिस हुने सम्भावना कम हुन्छ।
ग्यास्ट्राइटिसका बिरामीले खानपानमा विशेष सावधानी अपनाउनुपर्छ। भोको पेट बस्दा ग्यास्ट्राइटिससम्बन्धी समस्या बढ्नसक्छ। अनुशासित खानपान र स्वस्थ जीवनशैली अपनाउन सकियो भने ग्यास्ट्राइटिसको समस्या कम गर्न सकिन्छ।
पेटराेग विशेषज्ञ डा.सन्दीपराज कुँवरसँगकाे कुराकानीमा अाधारित।
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’
स्वास्थ्यमन्त्री मेहताले स्वास्थ्य पत्रकारसँग किन मागिन एकाएक सुझाव ?
नेपाल क्यान्सर अस्पतालले एक अर्बको लगानी थप्दै
अन्तर्राष्ट्रिय टेलिमेडिसिन सेवामा सहकार्य
स्वास्थ्य क्षेत्रमा १ खर्ब १ अर्ब ९५ करोड बजेट विनियोजन