Health TV Online
Health TV Online
Health TV Online

ह्याम्स अस्पताल र गोकर्णेश्वर नगरपालिकाबीच स्वास्थ्य सेवा सहकार्यमा सम्झौता

ह्याम्स अस्पताल र गोकर्णेश्वर नगरपालिकाबीच स्वास्थ्य सेवा सहकार्यमा सम्झौता

हेल्थ टिभी अनलाइन : ह्याम्स अस्पताल र गोकर्णेश्वर नगरपालिकाबीच नगरवासीलाई गुणस्तरीय, सहज, पहुँचयोग्य तथा सहुलियतपूर्ण विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले स्वास्थ्य सेवा सहकार्य सम्झौता भएको छ। सम्झौतापत्रमा ह्याम्स अस्पतालका अध्यक्ष आर एस भण्डारी र गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख दीपककुमार रिसालले हस्ताक्षर गरेका छन्।

सम्झौताअनुसार नगरपालिकाको सिफारिसमा ह्याम्स अस्पतालमा उपचार, शल्यक्रिया तथा अन्य स्वास्थ्य सेवा लिन आउने नगरपालिकाका स्थायी बासिन्दाले अस्पतालबाट उपलब्ध विभिन्न विशेषज्ञ स्वास्थ्य सेवामा विशेष छुट तथा सहुलियत पाउनेछन्। यसबाट आर्थिक रूपमा उपचार गर्न कठिनाइ भोगिरहेका नगरवासीलाई राहत पुग्ने अपेक्षा गरिएको अस्पतालले जनाएकाे छ ।

सहकार्यले नगरपालिकास्तरमा स्वास्थ्य सेवा सुदृढीकरण, नियमित स्वास्थ्य परीक्षण, जनस्वास्थ्य प्रवद्र्धन तथा स्वास्थ्य सचेतना अभिवृद्धिमा समेत सहयोग पुग्ने जनाइएको छ। दीर्घरोगको समयमै पहिचान तथा उपचार र जटिल स्वास्थ्य समस्याको जोखिम न्यूनीकरणमा पनि सहकार्य महत्वपूर्ण हुने बताइएको छ।

सम्झौतापछि ह्याम्स अस्पतालका अध्यक्ष भण्डारीले स्थानीय सरकारसँगको सहकार्यले नागरिकसम्म विशेषज्ञ स्वास्थ्य सेवा प्रभावकारी रूपमा पुर्‍याउन सहयोग पुग्ने बताए।

गोकर्णेश्वरका नगर प्रमुख रिसालले नागरिकको स्वास्थ्य स्थानीय सरकारको प्रमुख प्राथमिकता रहेको भन्दै ह्याम्ससँगको सहकार्यले नगरवासीलाई सहुलियत दरमा विशेषज्ञ स्वास्थ्य सेवा प्राप्त गर्न सहज हुने बताए। यसबाट उपचारको आर्थिक भार घट्नुका साथै नियमित स्वास्थ्य परीक्षण र रोगको समयमै पहिचानमा समेत सहयोग पुग्नेमा उनले विश्वास व्यक्त गरे ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार