Health TV Online
Health TV Online
Health TV Online

‘एन्टीमाइक्रोबियल रेसिस्टेन्स नियन्त्रणमा खोप सबैभन्दा महत्वपूर्ण’

एन्टीमाइक्रोबियल रेसिस्टेन्स सम्बन्धी पोलिसी ब्रिफ सार्वजनिक

‘एन्टीमाइक्रोबियल रेसिस्टेन्स नियन्त्रणमा खोप सबैभन्दा महत्वपूर्ण’

हेल्थ टिभी अनलाइन : एन्टीमाइक्रोबियल रेसिस्टेन्स प्रतिजैविक प्रतिरोध नियन्त्रणमा खोप सबैभन्दा महत्वपूर्ण हुने बताइएको छ । राजधानीमा यससम्बन्धी नीति संक्षेप Policy Brief सार्वजनिक गर्दै विज्ञहरुले एन्टीमाइक्रोबियल रेसिस्टेन्स कम गर्ने खोप महत्वपूर्ण साधन भएको बताएका हुन् ।

ग्लोबल एन्टिबायोटिक रेसिस्टेन्स पार्टनरशिप नेपाल (GARP नेपाल) ले नेपाल जनस्वास्थ्य प्रतिष्ठान र द वन हेल्थ ट्रस्टको सहकार्यमा “प्रतिजैविक प्रतिरोध न्यूनीकरणमा खोपको भूमिका” विषयक नीति संक्षेप सार्वजनिक गरेको छ।

उक्त पोलिसी ब्रिफले नेपालमा तीव्र रूपमा बढ्दै गएको प्रतिजैविक प्रतिरोधलाई खोपले कसरी न्यूनीकरण गर्न सक्दछ भन्ने बारेमा ठोस प्रमाणहरू प्रस्तुत गरेको छ। सन् २०२१ मा मात्र नेपालमा लगभग १९,५७९ जनाको मृत्यु प्रतिजैविक प्रतिरोध वा यससँग सम्बन्धित कारणले भएको अनुमान गरिएको छ, जसले नेपाल जस्तो स्रोत र साधनहरु सीमित भएको देशमा जनस्वास्थ्यमा ठूलो असर पारेको उल्लेख छ । खोपहरूले संक्रमण रोकेर प्रतिजैविक औषधीहरुको प्रयोग गर्नु पर्ने अवस्था सिर्जना हुन दिदैनन् र प्रतिजैविक प्रतिरोध कम गर्न प्रभावकारीरूपमा काम गर्छन् भन्ने ब्रिफमा उल्लेख छ ।

नेपाल जनस्वास्थ्य प्रतिष्ठानका संस्थापक महासचिव डा शरद वन्तले एन्टीमाइक्रोबियल रेसिस्टेन्स समस्याको कुनै उपचार नभएको र यसको रोकथाम गर्नु नै यस समस्याको एक मात्र समाधान भएको कुरा उल्लेख गरे । विभिन्न रोकथामका उपायहरूमध्ये खोप एक प्रभावकारी माध्यम भएकाले यस कार्यक्रमको महत्त्व अत्यन्त ठूलो रहेको उनले जिकीर गरे ।

यसैगरी गार्प नेपालका अध्यक्ष डा पारस कुमार पोखरेलले आफ्ना विचार राख्दै भने,’प्रभावकारी खोप कार्यक्रमहरूले सामूहिक प्रतिरक्षा प्रदान गर्छ जसको कारणले खोप नलगाएकाहरू समेत सुरक्षित हुन्छन्। त्यसैले, खोपको पहुँच अधिकतम बनाऔं र प्रतिजैविक औषधीको प्रयोग न्यूनतम गरौं।’ यसैगरी गार्प नेपालका कार्यक्रम निर्देशक डा समीर मणि दीक्षितले यस पोलिसी ब्रिफको बारेमा जानकारी दिदै नेपालमा प्रतिजैविक प्रतिरोध विरुद्धको लडाइँमा कुरा मात्रै होइन, काम गर्नु पर्ने अत्यन्त आवश्यक भएको कुरामा जोड दिए । उनले यसलाई कम गर्न खोप प्रभावकारी हुुने भन्दै खोपको कभरेजमा अझै ध्यान दिन आवश्यक रहेको बताए ।

गार्प नेपाल पोलिसी ब्रिफले नेपालमा प्रतिजैविक प्रतिरोधको सामना गर्नको लागि खोपको प्रयोग विस्तार गर्न विस्तृत रणनीति अपनाउन सिफारिस गरेको छ । यसमा उल्लेखित प्रमुख सुझावहरूमा दीर्घकालीन नीतिगत पैरवी, खोपको फाइदाबारे स्पष्ट पार्न खोपको आर्थिक फाइदाबारे अध्यनअनुसन्धान, र उत्कृष्ट खोप कार्यक्रम र अभ्यासहरूको सिकाई र अनुसरण गर्नु पर्ने कुराहरु समावेश छन्। पोलिसी ब्रिफले प्रतिजैविक प्रतिरोध सम्बन्धि कार्यक्रम र रणनितिहरुमा पशु स्वास्थ्य क्षेत्रको प्रभावकारी समावेशिता, उपचार निर्देशिकाको पालना, उच्च जोखिममा परेका समूहहरुको पहिचान गरि प्राथमिकता , र निगरानी प्रणाली सुदृढीकरणको लागि आह्वान गरेको छ। यसले थप खोज तथा अनुसन्धान, खोप विकासमा लगानी तथा नियामक निकायहरुको समर्थन, अन्तर्राष्ट्रिय सहकार्य, समान पहुँचको सुनिश्चितता, जनचेतना अभिवृद्धि, र प्रतिजैविक प्रतिरोध सम्बन्धी शिक्षा तथा जानकारी प्रवाहको आवश्यकतामा पनि जोड दिएको छ।

वन हेल्थ ट्रस्टका वरिष्ठ अनुसन्धान विश्लेषक श्री ऋषिराज भागवतीले नेपाल तथा दक्षिण एशियामा प्रतिजैविक प्रतिरोधले सार्वजनिक स्वास्थ्यमा पारेको खतरालाई जोड दिँदै भने, नेपालमा हालैका अनुमान अनुसार प्रतिजैविक प्रतिरोधसँग सम्बन्धित मृत्यु दर क्यान्सर, मधुमेह, श्वासप्रश्वास सम्बन्धी सङ्क्रमण, क्षयरोग, मिर्गौला रोग, पाचन प्रणालीका रोगहरू तथा मातृ र नवजात मृत्यु दरभन्दा पनि बढी भएको देखिएको छ।” नेपालको खोप कार्यक्रम एकदम उत्कृस्ट रहेको उल्लेख गर्दै उनले प्रतिजैविक प्रतिरोध न्यूनीकरणका लागि खोपलाई प्रभावकारी उपायको रूपमा प्रयोग गर्ने सरकारसँग विशेष अवसर रहेको कुरातर्फ ध्यानाकर्षण गराए ।

परिवार कल्याण महाशाखा प्रमुख डा विवेक कुमार लालले प्रतिजैविक प्रतिरोध अहिले एक विश्वव्यापी महामारी बनेको उल्लेख गर्दै न्यूनीकरणका लागि खोप एक अत्यन्त प्रभावकारी रणनीति भएको कुरा बताए । प्रतिजैविक प्रतिरोधको गम्भीरतालाई ध्यानमा राखेर यस पोलिसी ब्रिफलाई अझ विस्तृत सरोकारवालाहरूमाझ छलफल गर्न डा लालले सुझाव दिए । औषधि व्यवस्था विभागका महानिर्देशक श्री नारायण ढकालले प्रतिजैविक प्रतिरोध न्यूनीकरणमा खोपको महत्वपूर्ण भूमिका रहेको कुरालाई दोहोराउँदै पूरक रणनीतिका रूपमा खोपसँगै पानी, सरसफाइ र स्वच्छता र संक्रमण रोकथामका उपायहरू प्रवर्द्धन गर्नु आवश्यक रहेको कुरामा जोड दिए ।

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार