मधुमेह दिवसको अवसरमा आरुस लाइफस्टाइल अस्पतालले वाकाथन गर्दै
हेल्थ टिभी अनलाइन \काठमाडौं : ललितपुरको कुपन्डोलमा रहेको आरुस लाइफस्टाइल अस्पतालले विश्व मधुमेह दिवसको अवसर पारेर वाकाथन अर्थात प्रभातफेरी गर्ने भएको छ । बुधबार अस्पतालले पत्रकार सम्मेलन गर्दै उक्त कार्यक्रमकाबारेमा जानकारी दिएको हो । मधुमेह रोग सम्बन्धी जनचेतना जगाउने उद्धेस्यले अस्पतालले मधुमेह तथा इन्डोक्रिनोलोजी एसोसिएसन अफ नेपाल, प्रज्ञा फाउन्डेसन नेपाल, साउथ एसियन फेडेरेसन अफ इन्डोक्राइन सोसाइटीज र रोटरी क्लब अफ एलको सहकार्यमा उक्त वृहत कार्यक्रम गर्न लागेको जानकारी दिएको छ ।

शनिबार बिहान ७ बजे पाटन दरबार स्क्वायर परिसरबाट वाकाथन सुुरु भई पुल्चोक, कुपन्डोल हुँदै माइतीघर मण्डलामा गएर अन्तरक्रिया कार्यक्रम भई समापन हुनेछ । कार्यक्रममा ललितपुर महानगरका मेयर चिरीबाबु महर्जन प्रमुख अतिथी र काठमाडौं महानगरपालिकाका उप मेयर सुनिता डंगोल विशेष अतिथीका रुपमा सहभागी हुने अस्पतालका मेडिकल डाइरेक्टर डा अमित शाक्यले जानकारी दिए । नेपालमा पछिल्लो समय प्रि डाइबेटिज, डाइबेटिज, मोटोपना अत्यधिक बढिरहेको सन्दर्भमा यसलाई कसरी कम गर्न सकिन्छ भन्दै उक्त वाकाथन कार्यक्रम आयोजना गर्न लागिएको पनि उनले जानकारी दिए ।

कार्यक्रममा अस्पतालका सिइओ डा सन्तोष शाक्यले वाकाथन कार्यक्रम गर्नुको मुख्य उद्धेस्य मधुमेह सम्बन्धी जनमानसमा रहेको भ्रम हटाई यसबारे जनचेतना जगाउनु रहेको बताए । उनले मधुमेह भइसकेपछि यसको उपचारमा जाने भन्दा पनि यो रोग लाग्नु भन्दा पहिलेदेखि नै जीवनशैली र खानपानमा ध्यान दिनुपर्नेमा जोड दिए । यसैगरी कार्यक्रममा साउथ एसियन फेडेरेसन अफ इन्डोक्राइन सोसाइटीजकी अध्यक्ष डा दिना श्रेष्ठले मधुमेहकाबारेमा अझै पनि जनमानसमा चेतना नपुगेको भन्दै यसबारेमा व्यापक चेतना बढाउनुपर्नेमा जोड दिइन । उनले वयस्कमा र अलि बढी उमेरमा हुने टाइप २ मधुमेह अहिले सानै उमेरदेखि देखिन थालेको भन्दै यसबारे बेलैमा सचेत भएर पाइला चाल्नुपर्ने बेला आएको बताइन्।
नेपालमा मधुमेहको व्यापकता शहरी क्षेत्रमा १५ प्रतिशत र ग्रामीण क्षेत्रमा ५ प्रतिशतसम्म रहेको अनुमान गरिएको छ । हरेक वर्ष नोभेम्बर १४ तारिखका दिन मधुमेह रोग सम्बन्धी जनचेतना जगाउने उद्धेस्यले विश्व मधुमेह दिवस मनाउने गरिन्छ ।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’