Health TV Online
Health TV Online
Health TV Online

नेपालमा १० वर्षमा ५३ हजार २९८ जनाले गुमाए आत्महत्याका कारण ज्यान

नेपालमा १० वर्षमा ५३ हजार २९८ जनाले गुमाए आत्महत्याका कारण ज्यान

हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा १० वर्षको अवधिमा ५३ हजार २९८ जनाले आत्महत्याका कारण ज्यान गुमाएका छन्। विश्व आत्महत्या रोकथाम दिवसको पूर्व सन्ध्यामा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले बिहिबार गरेको पत्रकार सम्मेलनका क्रममा विज्ञहरुले उक्त विवरण सार्वजनिक गरेका हुन्।

कार्यक्रममा बोल्दै स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दिपेन्द्ररमण सिंहले नेपालमा आत्महत्या गर्नेको संख्या बढ्दै जानु र मानसिक स्वास्थ्य प्राथमिकतामा पर्न नसक्नु बिडम्बना भएको बताए । उनले शारीरिक समस्यालाई जस्तै मानसिक समस्यालाई पनि समयमै पहिचान गरी आत्महत्या रोकथाममा सबैले काम गर्नुपर्ने बेला आएको जनाए । उनले १० वर्षमा ५३ हजारभन्दा बढी व्यक्तिले मानसिक रोगका कारण ज्यान गुमाउनु निकै दुखद भएको भन्दै उनीहरुलाई समयमै पराममर्श र उपचार गरेको भए बचाउन सकिने जिकीर गरे ।

यसैगरी कार्यक्रममा मानसिक रोग विशेषज्ञ डा केदार मरहठ्ठाले मानसिक स्वास्थ्यलाई अझै पनि लुकाउने प्रवृतिले आत्महत्या बढ्न पुगेको भन्दै यसलाई घटाउनका लागि शारीरिक स्वास्थ्य समस्याकाबारेमा कुरा गरे जसरी मानसिक समस्याकाबारेमा पनि खुलेर एक अर्कासँग कुरा गर्ने वातावरण सिर्जना गर्नुपर्ने बताए । उनले परिवारले पनि यस्ता समस्या भएका व्यक्तिलाई साथ र सहयोग गर्नुपर्ने जिकीर गरे ।

कार्यक्रममा मानसिक स्वास्थ्यका अभियन्ता तथा कोशिशका कार्यकारी निर्देशक मातृका देवकोटाले कसैले पनि रहरले आत्महत्या गर्ने नभएकाले यसलाई एउटा रोग हो र यसको उपचार गर्नुपर्छ भन्नेतर्फ सबैले सोच्न पर्नेमा जोड दिए ।

नेपालमा अहिले आत्महत्याको दर २३ दशमलब ४ प्रतिशत प्रति एक लाख रहेको छ । जबकी सरकारले दिगो विकास लक्ष्य पूरा गर्नका लागि यसलाई २०१५ देखि २०३० सम्ममा प्रति एक लाख जनसंखयामा १६ दशमलब ५ प्रतिशतबाट घटाई ४ दशमलब ७ प्रतिशतमा झार्नुपर्ने लक्ष्य लिएको छ ।

आत्महत्याका कयौं घटनाहरु बाहिर नआउने गरेको भन्दै नेपालमा जे जति आत्महत्या गर्नेको संख्या देखिएको छ त्यो भन्दा धेरै नै हुनसक्ने अनुमान विज्ञहरुको छ । हरेक वर्ष सेप्टेम्बर १० का दिन विश्व आत्महत्या रोकथाम दिवस मनाउने गरिन्छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार