Health TV Online
Health TV Online
Health TV Online

अबदेखि ९० प्रतिशत चेतावनीमूलक चित्र नभएका सबै चुरोट अवैध

सरकारले जुनसुकै बेला जफत गर्न सक्ने

अबदेखि ९० प्रतिशत चेतावनीमूलक चित्र नभएका सबै चुरोट अवैध

हेल्थ टिभी अनलाइन\ काठमाडौं : अबदेखि बजारमा भएका र ९० प्रतिशत चेतावनीमूलक सन्देश नभएका सुर्तीजन्य पदार्थ अवैध हुने भएको छ । सर्वोच्च अदालतले ८ वर्षअघि परेको रिटमा यही भदौ १२ गते ९० प्रतिशत चेतावनीमूलक चित्र राख्नैपर्ने भन्दै परमादेश दिएसँगै अहिले बजारमा भएका सबै खाले सुर्तीजन्य पदार्थ जसले ९० प्रतिशत चेतावनीमूलक चित्र छापेका छैनन ती सबै अवैध हुने भएको हो ।

८ वर्षअघि प्रफेक्ट ब्लेन्ड्स प्रालिले ९० प्रतिशत चेतावनीमूलक छाप्ने निर्देशिका खारेज गर्दै ७५ प्रतिशतमै सिमित राख्न अदालतमा रिट दायर गरेको थियो । तर चेतावनीूमलक चित्रका कारण सुर्तीजन्य पदार्थको सेवनमा आएको कमीलाई मध्यनजर गर्दै एक्सन नेपालका तर्फबाट अधिवक्ता रामचन्द्र शर्माले २०७२ साल चैत ५ मा रिट दायर गरेका थिए । यही रिटमा ८ वर्षपछि सुनुवाई हुँदै एक्सन नेपालको माग बमोजिम सुर्तीजन्य पदार्थको बट्टा, र्यापर्स, प्याकेट, पेटी, पार्सल प्याकिेजिङमा ९० प्रतिशत चेतावनीमूलक चित्र छाप्न र छाप्न लगाउन स्वास्थ्य मन्त्रालय समेतका नाममा परमादेश दिएको हो ।

आइतबार एक्सन नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा एक्सन नेपालका तर्फबाट रिट दायर गर्ने र बहस गर्ने अधिवक्ता रामचन्द्र शर्माले अदालतले ढिलै पनि जनस्वास्थ्यको पक्षमा परमादेश दिएको बताए । उनले अबदेखि सबैले यो वा त्यो बहानामा ९० प्रतिशत चेतावनीमूलक चित्र छाप्न सक्दिन भन्न नपाइने समेत जिकीर गरे । उनले भने, ‘अदालतले गरेको फैसला मलाई थाहा छैन वा मैले सुनिन भन्न पाइँदैन । अब सबैले सुर्तीजन्य पदार्थमा ९० प्रतिशत चेतावनीमूलक चित्र छाप्नैपर्छ ।’ उनले बजारमा ९० प्रतिशत चित्र नभएका सुर्तीजन्य पदार्द भेटिएमा सो सरकारले जफत गर्न सक्ने समेत जनाए ।

विश्वभरी नै सुर्तीजन्य पदार्थको सेवनमा कमी ल्याउनका लागि यसको बट्टामा सुर्तीजन्य पदार्थ स्वास्थ्यका लागि हानिकारक छ भन्ने देखाउन चेतावनीमूलक चित्र राख्ने प्रावधान भएको भन्दै नेपालले पनि सोही प्रावधान लागू गरेको एक्सन नेपालका अध्यक्ष आनन्द बहादुर चन्दले बताए । उनले नेपालमा सन् २०१५ मा एक्सन नेपालले गरेको अध्ययन अनुसार ७५ प्रतिशत चेतावनीमूलक चित्र छाप्दा र चित्र नै नभएको बट्टा आउँदा सेवनकर्ताले सेवन गर्ने मात्रा फरक आएको जानकारी दिए । उनले ९ जिल्लामा २ हजार २५० जना मानिसमा गरिएको सर्वेक्षणमा चेतावनीमूलक चित्र छापिंदा ५५ प्रतिशतसम्म चुरोट सेवन गर्ने घटेको देखाएको समेत जिकीर गरे । सो अध्ययन अनुसार जति ठूलो चित्र त्यति नै धेरै प्रभाव देखिएको समेत उनले प्रस्ट पारे ।

नेपालमा कानून आएको भए पनि देशको सबैभन्दा बढी चुरोट उत्पादन गर्ने कम्पनी सुर्य नेपालले मात्र ९० प्रतिशत चेतावनीमूलक चित्र छाप्न आनाकानी गर्दै आएको थियो ।

विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा सुर्तीजन्य पदार्थ सेवनका कारण हुने रोगहरुका कारण वर्षेनी २७ हजारभन्दा बढी मानिसको मृत्यु हुने गरेको छ ।

 

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार