Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

मस्तिष्क मरण, अंगदान तथा प्रत्यारोपण सम्बन्धी मिडिया गोष्ठी सम्पन्न

मस्तिष्क मरण, अंगदान तथा प्रत्यारोपण सम्बन्धी मिडिया गोष्ठी सम्पन्न

हेल्थ टिभी अनलाइन \काठमाडौं : काठमाडौंमा मस्तिष्क मरण, अंगदान तथा प्रत्यारोपण विषयक मिडिया गोष्ठी सम्पन्न भएको छ । शुक्रबार नेपाल प्रेस इन्स्टिच्युटले शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरको सहयोगमा मस्तिष्क मरण, अंगदान तथा प्रत्यारोपण विषयक मिडिया गोष्ठी गरेको हो । मिडिया गोष्ठीमा विज्ञहरुले मस्तिष्क मृत्युपछिको अंगदानबाट ८ जनाको ज्यान जोगिने हुँदा यसबारेमा सर्वसाधारणमा चेतना पुराउने काममा मिडियाले सहयोग गर्नपर्नेमा जोड दिए ।

कार्यक्रममा प्रत्यारोपण केन्द्रका निर्देशक डा पुकारचन्द्र श्रेष्ठले नेपालमा मस्तिष्क मृत्युपछि हुने अंगदानमा अझै पनि सफलता पाउन नसकेको भन्दै यस पुण्य काममा मिडियाको साथ र सहयोगको अपेक्षा गरेको बताए । उनले मरेपछि खेर जाने अंगहरु दान गर्न कन्जुस्याइँ गर्न नहुनेमा जोड दिए ।

यसैगरी कार्यक्रममा वरिष्ठ न्यूरो सर्जन डा बसन्त पन्तले मस्तिष्क अर्थात ब्रेन डेथ भनेको शतप्रतिशत मृत्यु नै भएको भन्दै मस्तिष्क मृत्यु भएपछि पनि भेन्टिलेटरमा राख्दा फेरि जिवित हुन्छ भन्नु गलत बुझाई भएको बताए । उनले मस्तिष्क मृत्यु भइसकेपछि मानिस फर्केर नआउने हुँदा यो बेला अंग दान गर्न हिच्कचाउन नहुने जिकीर गरे । उनले ब्रेन डेथ भइसकेपछि पनि शरीर केहीबेर चलेजस्तो हुने, आँसु आउने जस्ता हुने हुँदा आफन्तले आफनो व्यक्ति जिवित हुनसक्छ की भनेर भेन्टिलेटरमा राखिदिन आग्रह गर्ने गरेको अनुभव समेत सुनाए । डा पन्तले मस्तिष्क मृत्युपछिको अंगदानमा धर्म गुरुहरुको पनि ठूलो हात हुने भन्दै सुरुमा उनीहरलाई यसकाबारेमा बुाझाउन जरुरी हुने बताए ।

मिडिया गोष्ठीलाई सम्बोधन गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानीप्रसाद खापुङले प्रत्यारोपण केन्द्रले उत्कृष्ट काम गरिरहेको भन्दै मस्तिष्क मृत्युपछिको अंगदानलाई सरकारले पनि अबको प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिवद्धता जनाए । उनले आफूले पनि मस्तिष्क मृत्यु पश्चातको अंगदानको घोषणा गरिसकेको समेत जानकारी दिए ।
यसैगरी स्वास्थ्य सचिव डा रोशन पाख्रेलले डा पुकारचन्द्र श्रेष्ठको टिमले जुन जोशजाँगरका साथ प्रत्यारोपणको संख्या बढाउँदै लगेको छ त्यसले छुट्टै आशा जनाएको जनाए । उनले अब सरकारले सातै प्रदेशमा यसको सेवा सुरु गर्ने समेत योजना बनाएको बताए ।

कार्यक्रममा वरिष्ठ पत्रकार भैरव रिसालले व्यक्ति कति वर्ष बाँच्यो भन्दा पनि गुणस्तरीय जीवन बाँच्यो की बाँचेन भन्ने कुरा महत्वपूर्ण हुने जनाए । उनले आफूले झाडापखाला लाग्दा मृत्युवरण गर्नुपर्ने समयसमेत देखेर आएको भए पनि अहिले प्रविधिका कारण अरुका अंग लिएर पनि बाँच्न सफल हुन सकिने समय आएको बताए । कार्यक्रममा कानूनविद काशीराज दाहालले मस्तिष्क मृत्युपछिको अंगदानसम्बन्धी कानूनमा केही समस्या भए त्यसलाई संसोधन गर्न सकिने जिकीर गरे । उनले कानूनका कारण अंगदानमा अप्ठेरो हुन नहुनेमा जोड दिए ।

यसैगरी कार्यक्रममा विभिन्न सञ्चारमाध्यममा कार्यरत सम्पादक तथा स्वास्थ्य पत्रकारहरुले अंगदानबारेमा जनचेतना जगाउन मिडियाको भूमिकाकाबारेमा आफनो धारणा राखेका थिए ।

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार