पार्किन्सन्स रोग केहो ? कसरी थाहा पाउने ?
डा राजिव ओझा
पार्किन्सन्स रोग एक किसिमको उमेर बढ्दै जाँदा लाग्ने रोग हो । त्यसैले यसलाई बुढ्यौलीको रोग पनि भन्ने गरिन्छ । तर यसो भन्दैमा बुढाबुढीलाई मात्र यो रोग लाग्छ भन्ने होइन । सामान्यतया ६० वर्षको उमेरपछि मात्र पार्किन्सस राेगको सम्भावना बढी हुने गरे पनि पछिल्लो समय केही व्यक्तिहरुमा ४० \५० वर्षमै पनि पार्किन्सन्स देखिरहेकाे छ ।
पार्किन्सन्स भनेको मानिसको ब्रेनमा सबटान्सिया नाएग्रा भन्ने सेल हुन्छ जसले डोपामिन भन्ने तत्व बनाउने काम गर्छ । तर जब यसले डोपामिन तत्व बनाउन सक्दैन वा कम बनाउन थाल्छ त्यसपछि व्यक्तिमा मुभमेन्टमा समस्या देखिन थाल्छ यसलाई नै पार्किन्सस रोग भन्ने गरिन्छ ।
पार्किन्सन्सका लक्षणहरु:
-हात काम्नु
-शरीर धान्न गाह्रो हुनु
-शरीर कडा बन्दै आउनु
-हिंड्दा समस्या हुनु
-शरीरमा सुस्तता बढ्नु
-बोली कम हुनु
माथिका यी लक्षणहरु पार्किन्ससन्स सुरुमा देखिने क्रममा आउने लक्षण हुन भने जति पछि भयो त्यति नै यसको समस्या बढ्दै जान्छ । त्यो अवस्थामा डिप्रेसन हुने, गन्ध थाहा नपाउने, भनेका, गरेका कुरा बिर्सने, शरीर कडा बन्दै गएर धान्न गाह्रो हुने र कसै कसैलाई अरुको सहारा चाहिने, हिव्ल चेयर चाहिने नै हुनसक्छ ।
उपचारको कुरा गर्दा पार्किन्सन्सको बेलैमा पत्ता लगाएर उपचार गरेमा यसलाई वर्षौसम्म पनि नियन्त्रणमा राखी सक्रिय जीवन जीउन सकिन्छ । तर हामीकहाँ बुढेसकालमा अलिअलि शरी दुख्छ, अलिअलि सुस्त भइहाल्छ भन्दै व्यवास्ता गर्दा रोग पुरानो भएर धेरै दुख दिन थालेपछि मात्र अस्पताल आउने भएकाले उपचारमा जटिलता र लामो समय लाग्ने गर्छ । यो रोगमा शरीरलाई चाहिने एउटा महत्वपूर्ण तत्व उत्पादन नै हुन नसक्ने भएकाले यसको औषधि केही दिन महिना खाएर छुटाउने भन्ने हुँदैन । कतिपयलाई औषधिले नै सम्पूर्ण रुपमा काम गर्छ भने कतिपयलाई डिप ब्रेन स्टिमुलेसन डीबीएस भन्ने डिभाइस राखिन्छ । जसले बिरामीलाई सहज बनाउँछ । सबैलाई यो राख्नपर्छ र राख्न मिल्छ भन्ने हुँदैन । बिरामीको कन्डिसन अनुसार मात्र निर्धारण गर्न सकिन्छ । यो प्रविधि नेपालमा पनि उपलब्ध छ । बिरामीमा प्रयोग भइरहेको छ ।
यो रोगमा देखिएका लक्षणलाई कम गर्दै लानका लागि र जीवन सहज होस भन्नका लागि उपचार गर्ने हो । पूर्ण रुपमा निको हुने भन्ने चाहिं हैन्। एकिन तथ्यांक त छैन् तर नेपालमा झण्डै २० हजार जति पार्किन्सन्सका रोगी छन् की भन्ने अनुमान गरिएको छ । अस्पतालमा आजभोलि पार्किन्ससन्सका बिरामी आउने क्रम बढ्दो छ । एउटा त स्वास्थ्य संस्थामा पहुँच बढी भएर पनि होला यो रोगको निदान पनि बढी नै हुन थालेको छ । समयमै उपचार गर्दा धेरै क्षति हुनबाट जोगाउन सकिन्छ भने त्यही रोग लागेको बढी समय भएमा भने सुधार ल्याउन बढी समय लाग्ने हुन्छ र बिरामीलाई गाह्रो पनि हुन्छ ।
पार्किन्सन्सका बिरामीलाई घर परिवारको पनि सहयोग चाहिन्छ । कुन बेला औषधि खाने, कुन बेला शारीरिक व्यायाम गर्ने जस्ता कुराहरुको रुटिन बनाइदिनुपर्ने हुन्छ । यो रोगको उपचारमा प्रयोग हुने औषधिमा निकै सावधानी अपनाउनुपर्ने हुन्छ । एकछिन पनि तल माथि भयो भने यो औषधिले कि त साइड इफेक्ट देखाउने कि त कामै नगर्ने हुनसक्छ । त्यसैले डाक्टरले भनेको अनुसार मात्रै औषधिको सेवन गर्नुपर्ने हुन्छ । पार्किन्सन्स रोग बुढ्सकालमा मात्र लाग्ने हो भनेर ढुक्क भएर नबसौं यदि योसँग मिल्दोजुल्दो लक्षण देखिएमा तुरुन्त एकपटक डाक्टरसँग सल्लाह गर्ने बानी बसालौं ।
(न्यूरोलोजिस्ट डा ओझा शिक्षण अस्पताल महाराजगंजमा कार्यरत छन्।)
अत्यधिक विषादी राखिएका तरकारी र फलफूलले क्यान्सर भयावह बन्दै : विज्ञ
ई- सिगरेटको आयात तथा बिक्री वितरण रोक्ने व्यवस्था कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयको पत्र
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन अपिल
औषधीय गुणले भरिपूर्ण सिस्नो
कर्णालीमा पहिलोपटक कम्युनिटी मेन्टल हेल्थ सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुँदै