Health TV Online
Health TV Online
Health TV Online

चैत २५ गतेदेखि देशभरका बालबालिकालाई टाइफाइड खोप लगाइँदै, १० हजार स्वास्थ्यकर्मी परिचालन

चैत २५ गतेदेखि देशभरका बालबालिकालाई टाइफाइड खोप लगाइँदै, १० हजार स्वास्थ्यकर्मी परिचालन

हेल्थ टिभी अनलाइन \काठमाडौं : सरकारले यही चैत २५ गतेदेखि देशभरका बालबालिकालाई टाइफाइडविरुद्धको खोप दिने भएको छ । मंगलबार राजधानीमा पत्रकार सम्मेलन गर्दै स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाले १५ महिनादेखि १५ वर्ष मूनिका बालबालिकालाई टाइफाइड खोप दिन लागेको जानकारी गराएको हो ।

कार्यक्रममा खोप अभियानबारे जानकारी दिंदै परिवार कल्याण महाशाखाका निर्देशक डा विवेक लालले सरकारले बालबालिकालाई टाइफाइड रोगबाट बचाउनका लागि उक्त खोप अभियान चलाएको र सो अभियानमा ७५ लाख बालबालिका समेटिने जिकीर गरे ।

कार्यक्रममा विश्व स्वास्थ्य संगठनका डा बिनोद बुराले टाइफाइड रोग नेपालमा जनस्वास्थ्यको प्रमुख समस्याका रुपमा रहेको भन्दै त्यसलाई कम गर्न यो खोप अभियान सहयोगी हुने बताए । उनले नेपाल दक्षिण पूर्वी एशियामा बालबालिकाका लागि टाइफाइड विरुद्धको खोप सुरु गर्ने पहिलो राष्ट्र भएको जनाए । उनले यो अभियानले धेरै बालबालिकामा देखिने समस्या कम हुने विश्वास समेत व्यक्त गरे ।

कार्यक्रममा बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख सागर दाहालले टाइफाइड विरुद्धको खोप अबदेखि नियमित खोप तालिकामा राखिने बताउँदै यो अत्यन्त सुरक्षित र अन्य देशमा लगाइरहेको खोप भएकाले ढुक्क भएर आफना बालबालिकालाई खोप लगाउन आग्रह समेत गरे । खोप अभियान चैत २५ देखि सुरु भएर वैशाख १८ गतेसम्म चल्नेछ । त्यसका लागि देशभर १० हजार स्वास्थ्यकर्मी खटाइने जनाइएको छ ।

टाइफाइड खोप स्थानीय तहले तोकेका विद्यालयहरुको खोप केन्द्रमा उपलव्ध हुनेछ। विद्यालय नभएका वा कम भएका वडाहरुमा बाह्य खोप केन्द्र सञ्चालन गरिनेछ। अभियानको अन्तिम दिन स्वास्थ्य संस्थामा खोप सेवा संचालन गरिने जनाइएको छ ।

टाइफाइड ‘साल्मोनेला टाइफी’ बाट हुने गम्भीर रोग हो जुन ढल वा संक्रमित व्यक्तिको दिसामा पाइने टाइफाइड रोगको जीवाणु स्वस्थ व्यक्तिमा खाना वा पानीको माध्यमबाट सर्दछ। यो रोग लागेमा उच्च ज्वरो आउने, टाउको दुख्ने, जिउ दुख्ने, पसिना आउने, पखाला लाग्ने र बान्ता हुने हुन्छ । साथै कहिलेकाहीं ज्यानै जान पनि सक्छ। विगत ५ वर्षको तथ्याँक अनुसार नेपालमा वर्षेनी ४ लाख ५० हजार जना भन्दा बढीमा टाइफाइड रोग संक्रमण पुष्टि भएको पाइएको छ। विगत ३ वर्षको तथ्यांक अनुसार पानी तथा खाना जन्य रोगहरु मध्य तेस्रो र अस्पताल भर्ना हुने कारणहरुमध्ये यो रोग चौथो कारणमा रहेको देखिएको छ। यो रोगको संक्रमण सबै उमेर समूहमा हुन्छ तर १५ वर्ष मुनिका बालबालिकामा अन्य उमेर समूह भन्दा बढी संक्रमण देखिएको छ।

‘ग्लोबल बर्डन अफ डिजिज एनलाइसिस २०१९’ अनुसार नेपालमा ८२ हजार ४४९ जना टाइफाइडका बिरामी रहेको अनुमान गरिएको छ । जस मध्ये ६० प्रतिशत १५ वर्ष भन्दा कम उमेरका बालबालिका रहेका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार