Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

नेत्रज्योति संघले मनायो ४४ औं वार्षिकोत्सव

नेत्रज्योति संघले मनायो ४४ औं वार्षिकोत्सव

हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपाल नेत्रज्योति संघले आफनो ४४ औं वार्षिकोत्सव मनाएको छ । ‘हाम्रो कर्तव्य, हाम्रो जिम्मेवारी, आँखा सेवामा साझेदारी’  भन्ने नाराका साथ संघले ४४ औं वार्षिकोत्सव मनाएको हो ।

आइतबार दिवसको अवसरमा एक कार्यक्रम गर्दै संघले कोरोना महामारीका बेला पनि आँखा सेवा सूचारु रहेको जनाएको छ । महामारीकैवीच सन् २०२१ मा संघले आफू मातहतका आँखा अस्पताल तथा उपचार केन्द्रबाट कुल २१ लाख २३ हजार ३८० जनाको आँखा जाँच तथा उपचार गर्नुका साथै २ लाख ५ हजार १२२ जनाको आँखा रोगको शल्यक्रिया गरेको जनाएको छ ।

हाल संघले २७ वटा आँखा अस्पताल र १४८ वटा आँखा उपचार केन्द्र र ४४ जिल्ला शाखाहरुमार्फत मार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।

वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा संघका अध्यक्ष डा चेतराज पन्तले संघले आँखा स्वास्थ्यका क्षेत्रमा धेरै काम गरेको भए पनि अझै पनि धेरै काम गर्न बाँकी रहेको र सरकारले पनि यसलाई प्राथमिकतामा राख्नुपर्ने बताए ।

कार्यक्रममा स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले नेत्रज्योति संघले आँखा स्वास्थ्यमा निकै प्रशंसनीय काम गरेको भन्दै सरकारले अब आँखा स्वास्थ्य सेवा विस्तारका लागि लगानी बढाउने जनाए ।

नेपालको आँखा स्वास्थ्यको ८० प्रतिशतभन्दा बढी सेवा नेत्रज्योति संघ मातहतमा अस्पतालले दिने गरेको संघका कार्यकारी निर्देशक डा शैलेस मिश्रले जनाए । कार्यक्रममा बोल्दै उनले आँखा सेवासँगै संघले बहिरोपन निवारणका लागि कान उपचार सेवा पनि  सुरु गरेको जानकारी दिए ।

वार्षिकोत्सवको अवसर पारेर आँखा स्वास्थ्य सेवामा योगदान पुराउने व्यक्ति तथा संस्थालाई सम्मान गरिएको थियो ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार