मृत्युपछि खेर जाने अंग दान गर्न कन्जुस्याइँ नगर्न चिकित्सकको आग्रह
हेल्थ टिभी अनलाइन \काठमाडौं : मानिसको मस्तिष्क मृत्यु भएपछि खेर जाने महत्वपूर्ण अंगहरु अरुको जीवनका लागि दान गर्न कन्जुस्याइँ नगर्न चिकित्सकहरुले आग्रह गरेका छन्। बिहिबार विश्व मिर्गौला दिवसको अवसर पारेर शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले आयोजना गरेको १२ औं नेपाल प्रत्यारोपण खेलकुद तथा मस्तिष्क मृत्यु सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै केन्द्रका निर्देशक तथा वरिष्ठ मिर्गौला प्रत्यारोपण विशेषज्ञ डा पुकार चन्द्र श्रेष्ठले आफू मरे पनि अरुलाई काम लाग्ने अंग दान गर्न कसैलाई पनि कन्जुस्याइँ नगरिदिन आग्रह गरे ।
उनले नेपालमा ब्रेन डेथ भइसकेपछि अंग दान र प्रत्यारोपण गर्ने कानून आएको भए पनि धेरै जना अझै पनि अंग दान गर्न हिच्किचाइरहेको अवस्था रहेको भन्दै यसरी आफू मरेर पनि अरुलाई बाँच्न सहयोग गर्ने पुण्य काममा लाग्न आग्रह गरेका हुन्।
यसैगरी केन्द्रकै मिर्गौला रोग विशेषज्ञ डा कल्पना श्रेष्ठले पनि ब्रेन डेथपछि दिइने अंगका कारण धेरै मिर्गौला लगायतका बिरामीलाई नयाँ जीवन दिन सकिने हुँदा यसमा सबैले हातेमालो गर्नपर्नेमा जोड दिइन । कार्यक्रममा नेपालमै पहिलोपटक ब्रेन डेथ भएका व्यक्तिका परिवारले दान गरेको मिगौला पाएर नयाँ जीवन पाएका १९ वर्षीय मिलन श्रेष्ठले आफूले ब्रेन डेथ भएका व्यक्तिले दिएको मिर्गौलाका कारण नयाँ जीवन पाएको बताए । उनले आफू जस्तै धेरै बिरामी जो डोनरको खोजीमा बर्षौ कुर्न बाध्य छन् उनीहरुलाई पनि सहयोग गरिदिन आग्रह गरे । श्रेष्ठ १० वर्षको हुँदा मिर्गौला फेल भएको थियो । परिवारमा कसैको पनि मिर्गौला म्याच नगरेपछि उनको प्रत्यारोपण हुन नसकेको अवस्थामा ब्रेन डेथपछि चिन्दै नचिनेको मानिसको मिर्गौलाले आफूलाई पूर्नजन्म दिएको भन्दै दातालाई उनले धन्यवाद दिए । उनले भने, आज म तपाइँहरु समक्ष दाताकै कारणले छु ।
कार्यक्रममा पूर्व मुख्यसचिव लिलामणी पौड्यालले सरकारले मिर्गौला रोगका क्षेत्रमा निकै खर्च गर्ने गरेको भए पनि अब प्रिभेन्टिभ क्षेत्रमा पनि काम गर्नुपर्ने बेला आएको बताए । उनले आफूले मृत्युपछि दान गर्न मिल्ने सबै अंगहरु दान गरिसकेको भन्दै सबैलाई अंग दान गर्न आग्रह समेत गरे । पौड्यालले शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका निर्देशक डा पुकार चन्दै श्रेष्ठले मिर्गौला प्रत्यारोपणका क्षेत्रमा दिएको योगदानको खुलेर प्रशंसा गरेका थिए ।
दिवसको अवसर पारेर मिर्गौला प्रत्यारोपण गरेका व्यक्ति र चिकित्सकहरुबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिताको समेत आयोजना गरिएको थियो ।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’