के हो डाइबेटिक रेटिनोप्याथी ? कसरी बच्ने ?
हेल्थ टिभी अनलाइन : रगतमा सुगरको मात्रा बढी भएपछि देखिने रोगलाई मधुमेह अर्थात् ‘डाइबिटिज’ भनिन्छ। हाम्रो शरीरको प्याङ्क्रियाजबाट इन्सुलिन भन्ने हार्मोन उत्पादन हुन्छ। प्याङ्क्रियाजले पर्याप्त मात्रामा इन्सुलिन उत्पादन गर्न सकेन वा उत्पादन भएको इन्सुलिन शरीरका कोषहरूले राम्रोसँग प्रतिक्रिया जनाउन नसकेमा उत्पन्न हुने समस्या डाइबिटिज हो।
मधुमेह भएपछि मानिसको शरीरमा विभिन्न किसिमका समस्या उत्पन्न हुन्छन्। मधुमेह भएको सुरुवाती अवस्थामा लक्षण नदेखिने हुनाले यसले सिधै मिर्गौला, आँखा र मुटुमा असर गर्न सक्छ। मधुमेहका कारण मस्तिष्काघात, अन्धोपन, नसा र मिर्गौलासम्बन्धी धेरै समस्या उत्पन्न हुन सक्छन्।
हामीले कुरा गर्न खोजेको विषय हो, मधुमेहले असर गर्ने महत्त्वपूर्ण अंग, आँखाको। यसलाई डाइबेटिक रेटिनोप्याथी भनिन्छ।
मधुमेह भएका बिरामीले ध्यान नदिएमा आँखाको ज्योति समेत गुमाउन सक्छन्। नेपालमा अन्धोपन गराउने एउटा कारण ‘डाइबेटिक रेटिनोप्याथी’ पनि हो। विश्वकै कुरा गर्ने हो भने पनि अन्धोपनको पाँचौ कारणमध्ये एक हो, डाइबेटिक रेटिनोप्याथी। यसलाई जनस्वास्थ्यको बढ्दो समस्याको रूपमा हेरिन्छ। विशेषगरी बिरामी ढिला उपचार गर्न आउने कारणले पनि आँखामा धेरै असर परिसकेको हुन्छ।
यसरी ढिलोगरी उपचारमा आउँदा बिरामीले आँखाको ज्योति गुमाउन पुग्छन्। एक अध्ययन अनुसार मधुमेह भएका एक तिहाइ बिरामीलाई ‘डाइबेटिक रेटिनोप्याथी’ हुन्छ भने उनीहरूमध्ये एक तिहाइलाई तुरुन्त उपचार गर्नुपर्ने देखिन्छ।
मधुमेहका रोगीले बेलाबेलामा आँखाको समेत जाँच गराउनुपर्छ। जाँच गर्दा आँखामा असर गरेको छ कि छैन भन्ने पत्ता लाग्छ। अन्यथा यसले आँखाको जलबिन्दु मोतियाबिन्दु जस्ता समस्या निम्याएर अन्तिममा अन्धोसम्म बनाउन सक्छ।
मधुमेह भएको सुरुवाती चरणमा आँखामा समस्या आएको खासै थाहा हुँदैन। तर बिस्तारै आँखा धमिलो देख्न थाल्ने, आँखामा छाया देखिने हुन्छ। मधुमेह भएका बिरामीले लक्षण देखिए पछि मात्र नभई प्रत्येक ६ महिनामा आँखा जाँच गराउन जरुरी हुन्छ। यसो गरेमा आँखामा हुनसक्ने क्षतिका बारेमा बेलैमा पत्ता लाग्छ र उपचार गर्न सकिन्छ।
आँखारोग विशेषज्ञ डा रबा थापासँग कुराकानीमा आधारित:




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य