बिरामीकाे गन्तव्य बन्दै म्याग्दीकाे तातोपानी कुण्ड
गलेश्वर : प्राकृतिक चिकित्सालयको रूपमा परिचित म्याग्दीको बेनी नगरपालिका–४ सिङगास्थित तातोपानी कुण्ड बिरामीकाे गन्तव्य बन्न थालेको छ।
म्याग्दीको सदरमुकाम बेनीबजारदेखि नौ किलोमिटर पश्चिममा पर्ने तातोपानी कुण्ड प्राकृतिक चिकित्सालयको रूपमा देश–विदेशमा समेत चर्चित छ। यहाँ एक हप्तादेखि १२ दिनसम्म डुबेपछि विभिन्न चर्मरोग, चोटपटक, ग्याष्ट्रिक र गानोगोलादेखि लिएर प्यारालाइसिससम्म निको भएको बिरामीले बताएका छन्।
देशका विभिन्न नाम चलेका अस्पतालमा उपचार गराएर निको नभएका बिरामीसमेत पछिल्लो समय तातोपानीमा आउन थालेका कुण्ड व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्रमान शाक्य बताउँछन्। लामो समयसम्म थलिएर उपचारका लागि यहाँ डुब्न आएका बिरामीले पनि तातोपानीमा डुबेपछि रोग निको भएको बताउँछन्।
बागलुङको ढोरपाटन नगरपालिका१ बुर्तिबाङका ६२ वर्षीय प्रेमबहादुर घर्तीले १५ वर्षसम्म तातोपानीको कुण्डमा निरन्तर रूपमा डुब्न आएको बताए। उनले आफ्नो ढाड र घुँडा दुख्ने समस्या रहेकामा निरन्तर रूपमा तातोपानी कुण्डमा आएर डुबेपछि निको भएको बताए। वर्षमा एक पटक म्याग्दीको सिङ्गास्थित तातोपानी कुण्डमा डुब्यो भने एक वर्षसम्म रोग निको हुने उहाँको भनाइ छ।
यसैगरी गुल्मीको थर्पुकोट१ का विष्णु कर्केले पनि विदेशमा रहँदा छालामा समस्या देखिएर औषधि सेवन गर्दा पनि रोग निको नभएको हुँदा तातोपानी कुण्डमा आएर डुबेपछि धेरै ठिक भएको अनुभव सुनाए। उनले हातका औँला र पैतालामा समस्या आएपछि उपचारकै लागि दुई महिनाको अवधिमा तीन पटक कुण्डमा आएको बताए।
म्याग्दीको प्रसिद्ध तातोपानी कुण्डमा हरेक वर्ष स्वदेश तथा विदेशबाट २० हजारको हाराहारीमा बिरामीहरू डुब्न आउने गरेका छन्। पछिल्लो समय कुण्डमा बिरामीलाई लक्ष्य गर्दै विभिन्न किसिमका भौतिक पूर्वाधार विस्तार गरिएको छ। तातोपानी कुण्ड व्यवस्थापन समितिले कुण्डमा स्नान गर्नकै लागि भनेर सहज व्यवस्थापन मिलाएको छ।
कुण्डभन्दा बाहिर रहेका तातोपानीका धाराहरू २४सै घण्टा खुला राख्ने गरिएको छ। जमिनमुनिबाट ४८ डिग्री सेन्टिग्रेटको तापक्रममा बिरेनुनको स्वादसहित निस्कने तातोपानीको कुण्डमा डुबुल्की मारेपछि ग्यास्ट्रिक, बाथरोग, गानोगोला, युरिक एसिड, हाडजोर्नी दुख्ने, हड्डीको दुखाइ, सड्केको, मर्केको, बज्रिएकोसहित चिसोका कारणबाट उत्पन्न सबै प्रकारका रोग निको हुने जनविश्वास गरिन्छ।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’