Health TV Online
Health TV Online
Health TV Online

विराटनगरलाई प्रदेशकै पहिलाे ‘स्मोक फ्री सिटी’ बनाउँछाैँ : सामाजिक विकासमन्त्री

विराटनगरलाई प्रदेशकै पहिलाे ‘स्मोक फ्री सिटी’ बनाउँछाैँ : सामाजिक विकासमन्त्री

विराटनगर : प्रदेश १ ले सुर्तीजन्य पदार्थ नियन्त्रण गर्न विशेष अभियान शुरु गर्ने भएको छ। प्रदेश १ मा सार्वजनिक स्थलमा धूमपान तथा सूर्तीजन्य पदार्थको प्रयोगलाई निषेध गर्ने र निश्चित क्षेत्रमा मात्रै सूर्तीजन्य पदार्थको बेचविखन गर्ने योजना तत्कालै शुरु गर्ने बताएको छ।

स्वास्थ्य पत्रकार मञ्च , एक्सन नेपाल र नेपाल पत्रकार महासंघ मोरङको आयोजनामा भएको सुर्तीजन्य पदार्थ नियन्त्रणमा प्रदेश तथा स्थानीय सरकारको भूमिका विषयक अन्तरक्रियामा प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले पहिलो चरणमा विराटनगरलाई ‘स्मोक फ्री सिटी’ बनाउन यो अभियान अघि बढाउने बताए।

‘विराटनगरमा सुर्ती संस्कृति छ, यसलाई विस्तारै कम गर्दै लग्नुपर्छ’, उनले भने, ‘यसको अभियान हामीले आफ्नै कार्यालयबाट गर्नुपर्छ।’ उनलेआइतबार विश्व स्वास्थ्य दिवसको अवसर पारेर सामाजिक विकास मन्त्रालयमा सुर्तीजन्य पदार्थ ‘इन्ट्री’ गर्न नदिने अभियान शुरु गर्न लागेको  जानकारी दिए। ‘मन्त्रालयमा कसैले पनि सुर्तीजन्य पदार्थ खाएर वा खल्तीमा बोकेर आउन पाउने छैन’, उनले भने।

जनस्वास्थ्यलाई प्रत्यक्ष हानि पुर्याउने सुर्तीजन्य पदार्थ नियन्त्रण गर्न प्रदेश सरकारले छुट्टै कानुन बनाएर लागु गर्ने उनले बताए। ‘हामी विराटनगरलाई स्वस्थ र स्वच्छ शहरको रूपमा प्रस्तुत गर्न चाहिरहेका छौँ’, उनले भने, ‘दोस्रो चरणमा अस्पताल तथा विद्यालय हाताको एक सय वरिपरी क्षेत्रलाई ‘स्मोक फ्री जोन’ घोषणा गर्ने अभियान छ’, उनले भने। विराटनगरमा टोलैपिच्छै अस्पताल र विद्यालय रहेकाले लगभग पूरै विराटनगर ‘कभर’ हुने र पछि विस्तारै प्रदेश १ लाई नै स्मोक फ्री प्रदेश बनाउने मन्त्री घिमिरेले बताए।

कार्यक्रममा विराटनगरका प्रमुख जिल्ला अधिकारी रमेश केसीले सुर्तीजन्य पदार्थ नियन्त्रण गर्नका लागि विभिन्न निकायबीच समन्वय आवश्यक भएको बताए।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव बद्रीबहादुर खड्काले सुर्तीजन्य नियन्त्रण गर्न सरकारले आवश्यक सम्पूर्ण कानुन बनाइसकेको अवस्थामा प्रदेश सरकाले पनि त्यसलाई टेकेर छुट्टै कानुन बनाएर त्यसको कार्यान्वनय गर्नुपर्ने बताए ।

कार्यक्रममा वरिष्ठ क्यान्सर रोग विशेषज्ञ विष्णुदत्त पौडेलले सुर्तीजन्य पदार्थले नेपालमा बर्सेनि २७ हजार मानिसको ज्यान लिने गरेको भन्दै यसलाई तुरुन्त नियन्त्रण गर्न जरुरी रहेको बताए।

स्वास्थ्य मन्त्रालयका कानुन उपसचिव पुष्कर नेपालले सुर्तीजन्य पदार्थसम्बन्धी कानुनी व्यवस्था र प्रदेश र स्थानीय सरकारले गनुपर्ने व्यवस्थाका बारेमा प्रस्तुति दिएका थिए।

कार्यक्रममा स्वास्थ्य पत्रकार मञ्चकी अध्यक्ष कल्पना आचार्य, एक्सन नेपालका अध्यक्ष आनन्दबहादुर चन्द र पत्रकार महासंघ मोरङका अध्यक्ष बन्धु पोखरेल लगायतले सुर्तीजन्य पदार्थ नियन्त्रण गर्न प्रदेश र स्थानीय सरकारको भूमिका महत्त्वपूर्ण हुने धारणा राखेका थिए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार